काठमाडौं। एनआईसी एसिया बैंकका ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन भन्ने समाचार कपोकल्पित र भ्रामक भएको भन्दै खण्डन छ।
केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारको खण्डन गर्दै बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै ,हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएको भन्दै यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराएको छ। गलत समाचारबाट भ्रमित नहुन सम्पूर्ण सरोकारवालालाई बैंकले अनुरोध गरेको छ।
साथै आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्यसमेत बैंकले स्पष्ट पारेको छ।
बैंकले २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ। वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३ सय ६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहक महानुभावहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको व्यहोरा सबैमा अवगत नै रहेको छ।
यस्तै ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंकसमक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको बैंकले जनाएको छ। देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।