काठमाडौँ । एनआईसी एसिया बैंकले कर्जा जोखिम भार दरलाई तोडमोड नगरेको स्पष्टपारेको छ। बैंकले मंगलबार विज्ञप्ति जारी गरी ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ अभ्यास गरिरहेको एनआइसी एसियाले जानकारी दिएको छ ।
बैंकका बारेमा केही सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बैंकले स्पष्ट पारेको छ । हाल केही सञ्चार माध्यमहरुमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल इस्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरुले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका समाचार गलत भएको जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा उल्लेखित रिस्क वेट क्लासिफिकेसनसम्बन्धी व्यवस्थाहरु मध्ये क्लेम्स सेक्योर्ड बाइ रेसिडेन्टल प्रोपर्टीजभित्र कस्ता कर्जाहरु पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरुले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम राष्ट्र बैंक समक्ष रिपोटिङ गरेको एनआइसी एसियाले जनाएको छ ।
यस सम्बन्धमा केही सञ्चार माध्यमहरुमा विभिन्न विषयहरु उठे पश्चात बैंकले राष्ट्र बैंकसमक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनका लागि अनुरोध गरे बमोजिम राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम सेक्योर्ड बाइ रेसिडेन्टल प्रोपर्टीजका सम्बन्धमा बैंकको बुझाइलाई अद्यावधिक गरी सोही बमोजिम राष्ट्र बैंकलाई रिपोर्टिङ गरिसकिएको बैंकले जानकारी गराएको छ ।
यस विषय वाहेक बैंकले रियल इस्टेट क्षेत्रमा राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको बैंकले प्रस्ट पारेको छ । रियल इस्टेटमा बैंकले आफ्नो कूल कर्जाको २५ प्रतिशतसम्म ऋण दिन सक्नेमा २०८० पुससम्म १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको जानकारी बैंकले दिएको छ ।
यसैगरी बैंकले ५० वटा शाखा बन्द गर्ने समाचार गलत भएको स्पष्ट पारेको छ । चालू आर्थिक वर्षको ६ महिनामा एनआइसी एसियाले ८९ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशत छ । आधारदर ९.६ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकको सञ्चित कोषमा १६ अर्ब २७ करोड रुपैयाँ रहेको छ । यस्तै चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड रुपैया निक्षेप परिचालन गरी २ खर्ब ८९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।