logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मुलुकभरी केबुलकार : निजी क्षेत्रको १ खर्ब लगानी, आइएमईको सबैभन्दा बढी

    मुलुकभरी केबुलकार : निजी क्षेत्रको १ खर्ब लगानी, आइएमईको सबैभन्दा बढी

    3.6K
    Shares
    मुलुकभरी केबुलकार : निजी क्षेत्रको १ खर्ब लगानी, आइएमईको सबैभन्दा बढी

    काठमाडौं, ८ फागुन । निजी लगानीमा देशभरि धमाधम केबुलकार निर्माण हुन थालेको छ । चितवन को–इ ग्रुपले मनकामना केबुलकार बनाएको लामो समयपछि निजी क्षेत्रले केबुलकार पूर्वाधारमा लगानी बढाएको छ । अहिले धमाधम केबुलकार परियोजना सुरु भएका छन् ।

    केबुलकारका साथै माथिल्लो भाग (टपस्टेशन) मा पाँचतारे स्तरका होटलहरु पनि बन्न थालेका छन् । धार्मिक एवंम प्राकृतिक स्थलमा पर्यटक आकर्षित गर्न रिसोर्टसहितको केबुलकार पूर्वाधार निर्माणले तीव्रता पाएको छ । अहिलेसम्म पहिचान भएका १४ मध्ये आधा दर्जन केबुलकार सञ्चालनमा आइसकेका छन् । केही निर्माणधीन र केही निर्माणका तयारीमा रहेका छन् । नेपालमा विश्वकै लामो मुक्तिनाथ केबुलकार बन्दै छ । मुक्तिनाथ केबुलकार ८० किलोमिटर लामो छ ।

    सञ्चालनमा आइसकेका, निर्माणधिन र निर्माणको तयारीको चरणमा रहेका गरी १४ केबुलकारमा मात्र हालसम्म १ खर्ब रुपैयाँ लगानी हुने देखिएको छ । अहिलेसम्म आइएमई ग्रुपले मात्रै तीन केबुलकार सञ्चालनमा ल्याइसकेको छ । आइएमई ग्रुपले काठमाडौं चन्द्रागिरिमा रिसोर्टसहितको केबुलकार सञ्चालन गरिरहेको छ ।

    चन्द्रागिरि केबुलकारमा ३ अर्ब रुपैयाँ लगानी भएको छ । आइएमईकै लगानीमा गैंडाकोटको मौलाकाली मन्दिरसम्म पुग्न मौलाकाली केबुलकार सञ्चालनमा आइसकेको छ । यस्तै बुटवलबाट पाल्पा वसन्तपुर कामाख्या देवी मन्दिरसम्म पुग्न लुम्बिनी केबुलकार सञ्चालनमा आइसकेको छ ।

    यहाँ पाँचतारे स्तरको होटलको निर्माण भइरहेको छ । ग्रुपका अनुसार मौलाकालीमा २ अर्ब र बुटवल–पाल्पा वसन्तपुरको लुम्बिनी केबुलकारमा ५ अर्ब रुपैयाँ लगानी भएको छ । आइएमई ग्रुपले मात्रै तीनवटा केबुलकार बनाउन १० अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।

    ग्रुपले ताप्लेजुङ पाथीभरामा पनि केबुलकार बनाउने तयारी गरेको छ । आइएमईले यति ग्रुपबाट पाथीभरा केबुलकारको स्वामित्व खरिद गरिसकेको छ । पाथिभरा केबुलकार पूर्वाधार बनाउन ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पाथिभरा केबुलकार बनाउन अहिले प्रारम्भीक चरणको कामहरु भइरहेको ग्रुपले जनाएको छ । त्यहाँका स्थानीय बासिन्दाहरुले छिटो केबुलकारको काम अघि बढाउन माग गरेका छन् ।

    सञ्चालनमा आइसकेकामध्ये मुलुककै पहिलो केबुलकार मनकामना केबुलकारमा १ अर्ब ५८ करोड रुपैयाँ लगानी भएको छ । मनकामना केबुलकार चितवन कोइ समूहले बनाएको हो । केबुलकारको मानक बनेको चितवन कोइ समूहले थप केबुलकार बनाएको छैन् । मनकामानामा रिसोर्ट निर्माण गरिरहेको छ । निजी लगानीमा दोलखामा कालिञ्चोक केबुलकार सञ्चालनमा छ ।४५ करोड लगानीमा बनेको कालिञ्चोकमा केबुलकार सञ्चालन भइरहेको छ।

    यस्तै पाँचतारे होटलसहितको बन्दीपुर केबुलकारमा ३ अर्ब रुपैयाँ लगानी भएको छ । बन्दीपुर केबुलकार सञ्चालनमा आएको छ । होटलको काम जारी छ । बन्दीपुर केबुलकारले सिसाको स्काइ ब्रिज पनि बनाउँदै छ । यसमा १ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । बन्दीपुरका लगानीकर्ताले ५ अर्ब रुपैयाँ लगानीमा तनहुँमा छिम्केश्वरी केबुलकार बनाउने तयारी गरिरहेका छन् । सिद्धार्थ केबुलकारमा १ अर्ब रुपैयाँ लगानी हुने भएको छ । योसँगै ६ वटा केबुलकार निर्माण तयारी भइरहेको छ ।

    तीमध्ये आइएमईले बनाउन लागेको पाथीभरामा ३ अर्ब लाग्ने देखिएको छ । यस्तै कैलालीको लम्कीचुहा–मोहन्यालमा ५ अर्ब रुपैयाँ लगानीमा जालपादेवी केबुलकार बन्ने भएको छ । कास्कीको मादी गाउँपालिका सिकलेसमा ८ अर्ब रुपैयाँ लगानीमा केबुलकार बन्ने भएको छ । काठमाडौंको चाल्नाखेलदेखि चम्पादेवीमा ६ अर्ब रुपैयाँमा केबुलकार बन्ने भएको छ । पोखरा–मुक्तिनाथमा ५२ अर्ब लगानी हुने भएको छ ।

    मुक्तिनाथ केबुलकार ८० किलोमिटर लामो हुनेछ । मुक्तिनाथ विश्वकै सबैभन्दा लामो केबुलकार हुने भएको छ । पोखरा वीरेठाँटीदेखि मुक्तिनाथसम्म रिसोर्टसहित केबुलकार बनाउने तयारी छ । केबुलकार बनाउन अहिले जग्गा अधिग्रहणको काम भइरहेको छ । मुक्तिनाथको कूल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब के एन्ड आर इन्जिनियरिङ भारतले लगानी गर्नेछ । बाँकी प्राथमिक सेयरबाट लगानी जुटाउने तयारी कम्पनीको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ६ प्रदेशमा केबुलकार बनाउने घोषणा गरेका छन् । सोही घोषणाअनुसार उनले धमाधम केबुलकार बनाइरहेका छन् ।

    केबुलकार सञ्चालन भएको ठाउँमा होटल तथा रिसोर्ट निर्माण हुनुका साथै सडक, बिजुली, खानेपानीलगायत सुविधामा विस्तार हुने तथा विकट ठाउँमा रहेका पौराणिक मठमन्दिरको सहज पहुँच हुन गई धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन विस्तारमा थप टेवा पुगिरहेको छ । केबुलकार सञ्चालनपछि नयाँ पर्यटकीय पूर्वाधार बनेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend