एनआईसी एसिया बैंक डुब्दैछ, सञ्चालकहरु भाग्दैछन र बैंक सहकारी जस्तै हुँदैछ भनी निक्षेपकर्ताहरुलाई आफ्नो निक्षेप बैंकबाट झिक्न सुझाएको सम्बन्धमा यस्तो भ्रामक अनि मनगढन्ते नितान्त निजी विचार भनुँ या आवेग, दम्भ, व्यक्तिगत आक्रोस, कुण्ठा वा द्वेषको रुपमा यसलाई लियौं।
यस्तो प्रस्तुती, अभिव्यक्ति र अन्तर्वाता वा अन्य कुनै पनि माध्यमबाट सम्प्रेषण गरी सार्वजनिक गर्नु अतिरञ्जित हो । त्यसर्थ, वास्तविकता के हो? चिरफार गर्न आवश्यकै देखिएकोले इच्छुक सबैका लागि यहाँ केही प्रष्ट पार्न खोजिएको छ।
१. बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार २०८० पुस मसान्तमा निक्षेप दायित्व ३ खर्ब ८३ अर्ब ४४ करोड रुपैयाँ छ। अघिल्लो वर्ष ३ खर्ब ९ अर्ब ३५ करोड रुपैयाँ थियो। अहिले बैंकको कर्जा प्रवाह ३ खर्ब २ अर्ब ६७ करोड रुपैयाँ छ। अघिल्लो वर्ष २ खर्ब ६६ अर्ब ६८ करोड रुपैयाँ थियो। कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७७.१८ प्रतिशत छ। अघिल्लो वर्षको यसै अवधिमा ८३.८४ प्रतिशत थियो।
त्यसैगरी तरलता अनुपात उक्त अवधिमा पर्याप्त अर्थात् २७.२८ प्रतिशत छ। अघिल्लो वर्ष २२.४७ प्रतिशत रहेको थियो। बैंकले नगदमा परिण गर्न सक्ने सम्पत्ति करिब १ खर्ब रुपैयाँ हाराहारीमा देखिन्छ। यी परिसूचकहरुलाई नियाल्दा बैंकको अवस्था सामान्य देखिन्छ। अफवाह र अनर्गल प्रचारको प्रभावले पछिल्लो समयमा भने निक्षेप झिकिएको कारण तरलता अनुपातमा कमी आई कर्जा–निक्षेप अनुपात बढेको हुन सक्ला।
२. उक्त अवधिमा पूँजीकोष १२.२१ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा १३.१८ प्रतिशत थियो। निष्कृय कर्जा १.१९ प्रतिशत छ। अघिल्लो वर्ष ०.६१ प्रतिशत रहेको थियो। यी परिसूचकहरु स्वीकार्य स्तरमा र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधीभित्र नै रहेका छन्।
३. कोषको लागत आधार दर तथा ब्याजदर–अन्तर जस्ता दरहरुमा समय–समयमा हुने सामान्य उतार–चढाव बाहेक कुनै पनि अर्थमा अस्वभाविक र अनियन्त्रित देखिंदैनन्।
४. बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशतका दरले बोनस सेयर वितरण गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रयमासमा वितरणयोग्य नाफमा संकुचन आएको परिणमस्वरुप बैंकको प्रति सेयर किताबी मुल्यमा कमी आई २०५.१० रुपैयाँमा छ। अघिल्लो वर्ष २४३.९७ रुपैयाँ कायम भएको थियो।
५. समस्याहरु जहाँ पनि हुन्छन्, एउटा संस्था विशेषमा होला या समग्र प्रणालीमै पनि होला । सोचेअनुसार व्यावसाय विस्तार भएन होला, अपेक्षा गरे बमोजिमको प्रतिफल नभएको होला, कर्जा असुलीमा चुनौती देखिएको होला, सञ्चालन लागत बढेको होला, बजार हिस्सामा कमी आएको होला, अघिल्लो वर्ष जस्तो कार्य–सम्पादन गर्न सकिएन होला या प्रतिस्पर्धीको तुलनामा केही पछि परिएको होला।
यी सबै समस्याहरु हुन् र यसको समाधान वा निकास नै नहुने भन्ने चाहिं होइन । देखिएका समस्या तथा चुनौतीहरुलाई अतिरञ्जित गरेर अमूर्त शैलीमा ठुलै संकट आउँदैछ भनी अनर्गल प्रचार गर्ने कार्यलाई सबै सचेत वर्गले निरुत्साहित पार्नु जरुरी छ ।
६. बैेक तथा वित्तीय संस्थाहरुमा विगतमा पनि समस्याहरु आउँथे, राष्ट्र बैंकले आवश्यक कारवाही गरेको वा व्यवस्थापन नै आफ्नो नियन्त्रणमा लिएको वा खारेजीमा पठाएको उदाहरणहरु छन्। तर, अहिलेसम्म कुनै पनि निक्षेपकर्ताको निक्षेप धराप वा जोखिममा परेको अवस्था भने छैन।
७. यस्ता भ्रामक समाचारहरु प्रकाशित भएकोमा उक्त बैंकको समेत ध्यानाकर्षण भई त्यस्ता झुठा र आधारहीन तथ्यका पछाडि नलाग्न बैंक आफैले पनि विज्ञप्ति निकाली सरोकारवालाहरुलाई सजग गराई रहेको छ।
८. अतः उपरोक्त तर्क र तथ्यका आधारमा त्यस्ता आधारहीन र भ्रामक हल्लाका पछाडि नलागि एउटा सचेत नागरिकले स्थितिको यथार्थ अनि वस्तुपरक विश्लेषण गर्नु आवश्यक छ।
(राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पौडेलको फेबुकवालबाट)