चैत १ काठमाडौं:
एजेन्सी – कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिईरहँदा भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् ।
वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेका अनुसार सबैतिर कोरोनाभाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको हो । उक्त मन्दिरमा भगवानको मूर्तिलाई नछुन पनि अपिल गरिएको छ ।
मानिसहरुले संकटको बेलामा भगवानलाई सम्झने र मन्दिरमा पुगेर प्रार्थना गर्ने गरेकाले पनि सर्वसाधारणमा यस्तो संकट आइपरेको अवस्थामा मन्दिरमै जनचेतानामूलक गतिविधि गरिएको पुजारी पाण्डेको भनाइ छ । पछिल्लो समय मन्दिरमा आउने भक्तजनहरुले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न थालेको उनको भनाइ छ ।