logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • ७५ करोड लगानीमा धागो उत्पादन क्षमता बढाउँदै जगदम्बा स्पिनिङ, वार्षिक २८ हजार टन पुग्ने

    ७५ करोड लगानीमा धागो उत्पादन क्षमता बढाउँदै जगदम्बा स्पिनिङ, वार्षिक २८ हजार टन पुग्ने

    2.4K
    Shares
    ७५ करोड लगानीमा धागो उत्पादन क्षमता बढाउँदै जगदम्बा स्पिनिङ, वार्षिक २८ हजार टन पुग्ने

    काठमाडौं । सौरभ ग्रुपले सञ्चालन गरिरहेको जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको धागो उत्पादन क्षमता बढ्ने भएको छ । उद्योगले धागो उत्पादन क्षमता बढाएर वार्षिक २८ हजार टन पुर्याउने भएको छ । अहिले उद्योगले वार्षिक २० हजार टन धागो उत्पादन गर्दै आएको छ । ७५ करोड रुपैयाँ लगानीमा वर्षिक ८ हजार टन धागो उत्पादन थप्न लागेको ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।

    ‘बैंकबाट ऋण नलिइ कम्पनीको आम्दानी र रिजर्भबाट थप लगानी गर्ने भएका छौं । क्षमता विस्तारपछि उद्योगको उत्पादन ४० प्रतिशत बढ्ने छ ’ अध्यक्ष न्यौपानेले सुनौलो नेपालसँग भने ।

    उद्योगको धागो उत्पादन क्षमता विस्तार सुरु भइसकेको छ । मेशिन अर्डर गर्ने काम भइसकेको उनले जानकारी दिए । ढिलोमा डेढ वर्षभित्र उद्योगको क्षमता विस्तारको काम सकिने छ । उद्योग वीरगञ्जमा छ ।

    विदेशमा धागोको माग बढेपछि उद्योगले उत्पादन क्षमता बढाउन सुरु गरेको हो । धागोको मुख्य बजार भारत नै हो । टर्कीमा पनि निर्यात भइरहेको छ । जगदम्बाले अहिले बंगलादेशमा धागो निर्यातका लागि कोशिस गरिरहेको छ । परीक्षणका रुपमा केही गाडी धागो बंगलादेश निर्यात भएको न्यौपानेले बताए ।

    जगदम्बा स्पिनिङ मिल्सको बुकबिल्डिङ विधिबाट प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। चुक्तापुँजीको १० प्रतिशतसम्म आइपिओ निष्कासन गर्ने योजना ग्रुपको छ । ढिलोमा आगामी आर्थिक वर्षभित्र जगदम्बाको आइपिओ निष्कासन भइसक्ने ग्रुपका अध्यक्ष न्यौपानेले बताए।

    उद्योगको गत पुस २६ मा सम्पन्न साधाणसभाबाट सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

    जगदम्बा स्पिनिङ मिल्सले २०२३ को ९ महिनामा पौने ३ अर्ब रुपैयाँको धागो व्यापार गरेको छ । जगदम्बाले भारत र टर्कीमा धागो निर्यात गरेर ९ महिनामा २ अर्ब ७८ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।

    २०२२ मा जगदम्बाले २ अर्ब ३२ करोड ८० लाख रुपैयाँको धागो व्यापार गरेको थियो । गत वर्षको भन्दा ९ महिनामा उद्योगको धागो व्यापार बढी देखिएको छ । २०२१ मा १ अर्ब ५६ करोड ४० लाख, २०२० मा १ अर्ब २७ करोड ६० लाख र २०१९ मा २ अर्ब १७ करोड २० लाख रुपैयाँको धागो व्यापार गरेको थियो ।

    पाँच वर्षको विवरण हेर्दा उद्योगको धागो व्यापार बढ्दै गएको देखिन्छ। जगदम्बाले पलिस्टर धागो, पोलिस्टर भिस्कोज मिश्रित धागो र एक्रिलिक जस्ता फाइबरमा आधारित धागो उत्पादन गर्दछ ।

    उद्योगले कूल उत्पादनको ९२ प्रतिशत भारत र टर्कीमा निर्यात गर्दै आएको छ । उद्योगको आम्दानी निर्यातमा आधारित छ । यो वर्ष कूल आम्दानीको ९३.४ प्रतिशत र अघिल्लो वर्ष ९२.१ प्रतिशत आम्दानी निर्यातबाट भएको छ ।

    जगदम्बाले ३ अर्ब ८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स २०२१ मा आएर आइपिओ निष्कासन गर्न पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो ।

    उद्योगका प्रमोटरहरूसँग उत्पादनमा २५ वर्षभन्दा बढी अनुभव छ । सौरभ समूहको सिमेन्ट र स्टिल जस्ता धेरै ठूला उद्योगहरूमा लगानी छ । समूहले लगानी विविधिकरण गरी चिया, धागो र सिंथेटिक बुनेका कपडाको उत्पादन गरिरहेको छ । ग्रुपले भर्खरै सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपिओ निष्कासन गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend