काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथी कुटपिट भएको छ ।कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत जोशीलाई कुटपिट गरिएको हो ।
अधिकृत जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरुले कुटपिट गरेको बताइएको छ । कार्यपालिकामा नेकपा माओवादीका बहुमत सदस्य रहेका छन् । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छन ।
बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । तर, कार्यपालिका सदस्यहरूले बैठकमा विरोध गर्दै कुर्सी हानाहान गरेको हुन् । जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा घटनाको विषयमा जानकारी भएको छ । तर, प्रहरीमा निवेदन तथा उजुरी भने दर्ता भएको छैन ।
नेकपा माओवादी केन्द्रबाट विजयी कार्यपालिका सदस्यहरु धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए ।
आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकाशकीय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।