चैत ५ काठमाडौं: कृषिमन्त्री घनश्याम भुसालले नेपाली कृषि उत्पादन व्यवस्था सुधार गर्न पाँचवटा नीतिगत आधारहरु सार्वजनिक गरेका छन्। मन्त्रालयमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भुसालले यी बुँदाहरुबारे जानकारी गराएका हुन्।
किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन बचततर्फ पहलकदमी लिनुपर्छ भन्ने निष्कर्षमा मन्त्रालय पुगेको उल्लेख गर्दै मन्त्री भुसालद्वारा तयार गरिएको प्रतिवेदनमा नीतिगत आधारका रुपमा पाँचवटा बुँदा उल्लेख गरिएको छ।
मन्त्रालय बलियो बनाउन लामो समय खर्चिनुपरेको बताउँदै उनले हाल साधन स्रोत र कानुन बलियो हुँदै गए पनि किसान र कृषि बलियो नभएकाले त्यसतर्फ आफूले पहलकदमी लिने दाबी भुसालले गरे।
यस्ता छन् मन्त्री भुसालले सार्वजनिक गरेका आधारहरु:
१ उत्पादन सामग्रीमा अनुदान :
हामीले दिदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउरनश्ल, मल, सिंचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरिने छ। तिनलाई सर्वसुलभ बनाइनेछ।
२ सबै किसानको घरदैलोमा प्राविधिक सेवा/टेवा :
हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेण्टी गरिनेछ। स्थानीय तहमा करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसंग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्व पदपूर्ति गरिने छ।
३ सस्तो र सुलभ ऋण :
सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिनेछ।
४ बाली तथा पशुपन्छी बीमा :
कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहँचमा प्रयाउने ग्यारेण्टी गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कषि बालि/वस्तुको हानीनोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ।
५ न्यूनतम बचतको ग्यारेण्टी :
किसानले उत्पादन गर्ने मुख्य बाली/वस्तको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मल्य तोकिनेछ। किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्नेछ।