काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको सगरमाथालाई विश्वमाझ चिनाउन योगदान दिएका हलिउड फिल्म निर्माता तथा छायांकार डेभिड ब्रेसियर्सको निधनले नेपाललाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
टानका महासचिव बिनोद सापकोटाले नेपालको प्राकृतिक सुन्दरतालाई फिल्ममार्फत बिश्वसामु पुर्याएका डेभिड खेलेको भुमिका अतुलनीय रहेको भन्दै उनको निधनले नेपाललाई ठुलो क्षति पुगेको जनाएका हुन ।
सगरमाथा आरोही समेत रहेका उनले पाँच पटक सगरमाथा आरोहण गरेका थिए । सन् २०१५ मा रिलिज भएको हलिउड फिल्म ‘एभरेस्ट’ थ्रीडीका उनी सहायक निर्माता र दोस्रो तहका छायांकार थिए ।
सन् १९८३ मा उनी सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने पहिलो व्यक्ति बनेका हुन । सन् १९९८ को आइम्याक्स डकुमेन्ट्री ‘एभरेस्ट’बाट उनी विश्वचर्चित बने । आइम्याक्स डकुमेन्ट्री इतिहासमा सर्वाधिक धेरै कमाउने फिल्म बन्यो । आठ फिल्ममा काम गरेका उनले सगरमाथामाथि एभरेस्ट, स्टोर्म ओभर एभरेस्ट र एभरेस्ट डेथ जोनजस्ता फिल्म निर्माण गरेका छ्न ।
ब्रेसियर्सको निधनमा नेपाली फिल्मकर्मी र पर्वतारोही समुदायले समेत दुःख व्यक्त गरेका छन् ।
अमेरिकाको म्यासाचुसेट्समा ६८ वर्षीय ब्रेसियर्स घरमा मृत फेला परेका थिए । उनको मृत्युको ठोस कारण भने यकिन नभएको परीवारले उल्लेख गरेको छ ।