विराटनगर । मोरङको बेलबारी – १ मा एक जना पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।
बेलबारी १ मा बस्दै आएका बम बहादुर लिम्बुले श्रीमती गीता लिम्बुको हत्या गरेर आत्महत्या गरेका हुन् ।
बम बहादुरले बुधबार बिहान १ बजे तिर श्रीमतिको हत्या गरेर आफूले पनि आत्महत्या गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।
घरायसी विवादका कारण सो घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेका बम बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको पाइएको हो ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।