चेन्नाई, एएनआई । पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन चेन्नाई सुपर किङ्ग्स (सिएसके) ले आइपिएल २०२४ को आगामी सिजनअघि बिहीबार स्टार ओपनर ऋतुराज गायकवाडलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ ।
यो निर्णयले सिएसकेको नेतृत्वमा रहेको एमएस धोनीको लामो शासनको अन्त्यको सङ्केत गर्दछ । आफ्नो नेतृत्वमा धोनीले पाँच वटा आइपिएल दिलाएका छन् ।
“एमएस धोनीले आइपिएल २०२४ सुरु हुनुअघि सिएसकेको कप्तानी ब्याट्सम्यान ऋतुराज गायकवाडलाई हस्तान्तरण गरे, ऋतुराज सन् २०१९ देखि सिएसकेका अभिन्न अङ्ग छन् र उनले यस अवधिमा आइपिएलमा ५२ खेल खेलेका छन्”, सिएसकेले बिहीबार आधिकारिक विज्ञप्तिमार्फत भनेको छ ।
धोनीले २१२ आइपिएल खेलमा सिएसकेको नेतृत्व गरेका थिए। यसमा १२८ खेलमा जित र ८२ मा पराजित भए । सन् २००७ को टि–२० विश्वकप, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफीमा टिमलाई उपाधि दिलाएपछि धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।
गत वर्ष धोनीको नेतृत्वमा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध चेन्नाई फ्रेन्चाइजीले कीर्तिमानी पाँचौँ आइपिएल उपाधि जितेको थियो । ४२ वर्षीय धोनी भारतीय क्रिकेटका सबैभन्दा प्रशंसित अनुहारमध्ये एक हुन् र वर्तमान केही क्रिकेट स्टारका तुलनामा प्रशंसकहरूबाट आनन्द लिइरहेका छन्। सन् २००८ मा आइपिएलको उद्घाटन सत्रदेखि नै उनले चेन्नाईको कप्तानी गरेका छन् ।
उनले सन् २०२२ सिजनको प्रारम्भमा स्टार अलराउन्डर रवीन्द्र जडेजालाई कप्तानी हस्तान्तरण गरेका थिए । तर, सिजनको मात्र आठ खेलपछि पुनः फ्रेन्चाइजीको नेतृत्व गरे ।