काठमाडौँ । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्यले पुन : नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन प्रतितोला १ लाख ३६ हजार २ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ६ सय रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार हिजो हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।