काठमाडौं । व्यवसायिक घरना विशाल र एभरेष्ट ग्रुपको संयुक्त लगानीमा सञ्चालित यती ब्रुअरी लिमिटेडले ६ महिनामा १ अर्ब १० करोड ८० लाख रुपैयाँको बियर व्यापार गरेको छ । उद्योगले सन् २०२३ मा २ अर्ब ५६ करोड ५० लाख रुपैयाँको बियर व्यापार गरेको थियो ।
यस्तै २०२२ मा ३ अर्ब ४६ करोड ७० लाख र २०२१ मा २ अर्ब ९ करोड ३० लाख रुपैयाँको बियर व्यापार गरेको थियो । बियर व्यापारमा केही सुुधार देखिएको यतीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कूल आम्दानीको ४६ प्रतिशत खर्च कच्चा वस्तु खरिदमा हुने गरेको छ । यसअघि ३५ प्रतिशत मात्र खर्च भएको थियो ।
यतीले अर्ना, यती, शिखर, वाइबी, किङफिसर एन्ड सेभन सिन्सलगायत ६ ब्राण्डमा बियर उत्पादन गर्दै आएको छ । यतीले छ वटा ब्रान्डहरूको देशैभरका प्रमुख ६ क्षेत्रलाई समेटेको छ । यतीले जापान, भारत र अष्ट्रेलिया बियर निर्यात गरिसकेको छ ।
उद्योगले भारतको युनाइटेड ब्रुअरी लिमिटेडबाट ट्रेडमार्क प्राप्त गरेको छ । किङफिसर बियरका लागि यतीले युनाइटेबाट ट्रेडमार्क प्राप्त गरेको हो। यो ब्राण्डको बियर विभिन्न ६० मुलकमा उपलब्ध छ । यतीले सन् २०१८ देखि नेपालमा किङफिसर ब्राण्ड बियर उत्पादन थालेको हो ।
यतिले बियर उत्पादन क्षमता बढाएर वार्षिक ४ करोड ३० लाख लिटर पुर्याएको छ । बियर उत्पादन क्षमता विस्तारपछि यतीको ऋण बढेर १ अर्ब ११ करोड ७० लाख रुपैयाँ पुगेको छ । उद्योग क्षमताको ६० प्रतिशत सञ्चालनमा छ ।
कम्पनीमा सबैभन्दा बढी स्वामित्व एभरेष्ट ग्रुपका सञ्जिव सर्राफको छ । उनको ३२.८४, जयजीव सर्राफको ११.९९ र विशाल अग्रवालको ६.९२ प्रतिशत स्वामित्व छ।
उद्योग सन २०१३ मा चितवनमा स्थापना भएको हो । यतीले बियर उत्पादन सन् २०१७ देखि सुरु गरेको हो । यती ब्रुअरीको बियर प्लान्ट चितवनमा छ । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न यती २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो ।
यती ब्रुअरीले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।