बिकास रौनियार धादिङ – ईलाका प्रहरी कार्यालय गजुरीले धादिङ र मकवानपुर जिल्लाका बिभिन्न स्थानबाट हराएर धादिङमा चल्दै आएका पाँच थान मोटरसाइकल बरामद गरेको छ।
चोरीका मोटरसाइकल ग्रामीण क्षेत्रमा ल्याएर चढ्ने गरेको बिशेष सुचनाको आधारमा प्रहरीले चलाएको बिशेष अप्रेसनमा बिल बुक नभएको र नम्बर प्लेट परीवर्तन गरी चलाएका बिभिन्न ब्राण्डका मोटरसाइकल बरामद गरेको ईलाका प्रहरी कार्यालय गजुरीको सुचना अधिकृत इन्स्पेक्टर भोजराज पाण्डेले सुनौलो नेपाललाई जानकारी दिनुभयो ।
बरामद गरेका मोटरसाइकल मध्य एउटा चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ नैकाप बस्ने मोहन कृष्ण महर्जनको रहेको तथ्य फेला परेपछि उनलाई बुझाईएको र बाँकी चारवटा मोटरसाइकलका धनी पनि पत्ता लगाइसकेकोले केहि दिनमै हस्तान्तरण गरीने प्रहरीले जनाएको छ ।
काठमाडौँ वा अन्य ठाउँमा मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा चोरी हुने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको र चोरीमा संग्लग्न रहेका त्यस्ता व्याक्तिहरुको अनुसन्धान भइरहेको छ दोषी ठहरीए कडा कारबाही गरीने ईलाका प्रहरी कार्यालय गजुरीको डीएसपी खगेंद्र बहादुर खड़काले जानकारी दिनु भएको छ।