काठमाडौं । किष्ट मेडिकल कलेजको स्वामित्वको विषयलाई लिएर दुई व्यवसायीक घरनाबीचको विवाद सतहमा आइपुगेको छ ।
गुण ग्रुप र युनाइटेड बिल्डर्सका सञ्चालकबीच किष्ट मेडिकल कलेजको स्वामित्व विवाद अहिले कम्पनी रजिष्ट्रारको कार्यालयसम्म पुगेको छ। कम्पनी रजिष्टारको कार्यालयले विवाद मिलाउने प्रयास गरेको छ ।
युनाइटेड बिल्डर्सका सञ्चालकद्धय पूर्णलाल हिराचन र सुकुन्तलाल हिराचन सिस्को कर्पोरेट प्रालिका सञ्चालक राजेन्द्र शाक्यबीच कलेजको स्वामित्वलाई लिएर विवाद बढेको हो।
पूर्णमान र सुकुन्तलालले सिस्कोको सञ्चालक राजेन्द्र शाक्यले किस्ट मेडिकल कलेजको वार्षिक साधारणसभा र विशेष साधारणसभा गर्दा आफूहरुलाई जानकारी नदिने गरेको आरोप लगाएका छन् । यस्तै शाक्यले कलेजको आर्थिक हिसावकिताव पारदर्शी नबनाएको आरोप उनीहरुको छ ।
यस्तै कलेजमा संस्थागत सुशासन कायम नगरेको र सेयरधनीको हितविपरितको काम गरेको आरोप पूर्णलाल र सुकुन्तलालको छ । पूर्णलाल र सुकुन्तलालले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गराइ समान स्वामित्व र सोही सेयर अनुपातका आधारमा सञ्चालक संख्या कायम गराउन माग गरेका छन् । कलेजमा राजेन्द्रको ८ लाख कित्ता र सुकुन्तलालको २ लाख कित्ता स्वामित्व छ ।
राजेन्द्रले कम्पनीको नियमविरुद्ध काम गरेकाले कम्पनी रजिष्टारको कार्यालयमा जानुपरेको भनाई सुकुन्तलालको छ । बहुमतको नाममा राजेन्द्र शाक्यले पेलेपछि कानुनी उपचारमा गएको उनको भनाई छ ।
पूर्णलाल र सुकुन्तलालले उजुरी दिएपछि कम्पनी रजिष्टार कार्यालयले राजेन्द्र शाक्यलाई लिखित प्रमाणसहित एक साताभित्र आफू आइ वा प्रतिनिधि पठाइ हाजिर हुन भनेको छ ।
यदी प्रमाण पेश नगरेमा कानुन बमोजिम हुने र त्यस विषयमा कुनै उजुरी नलाग्ने जानकारी कार्यालयले शाक्यलाई दिएको छ । कार्यालयले यसअघि पनि बोलाउदा नआएको जनाएको छ ।
किष्ट मेडिकल कलेज २०६२ मा स्थापना भएको हो । मेडिकल कलेजमा ३ सय बेडको अस्पतालका साथै बेग्लै डेन्टल हस्पिटल पनि सञ्चालनमा छ । त्रिभुवन विश्वविद्यालबाट मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन प्राप्त किस्ट ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा छ। कलेजमा विवाद बढेपछि यसअघि व्यवसायी कृष्ण आचार्य बाहिरिएका थिए ।
शाक्यको गुण एयरलाइन्स, गुण सिनेमा, गुण कोलोनीका साथै एपिवान टेलिभिजन, काठमाडौं इन्जिनियरिङ कलेज,नेपाल फाइनान्स लिमिटेड, युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड र द म्यासिफ होटलमा लगानी छ । यस्तै सुकुन्तलाल निर्माण व्यसायी हुन् । उनको युनाइटेड विल्डर्स निर्माण कम्पनी छ । यस्तै त्रिपुरेश्वरमा रहेको युनाइटेड वल्र्ड ट्रेड सेन्टर पनि उनले निर्माण गरेका हुन् ।