बैशाख ७, चितवन । लकडाउनको समयमा भोकै रहेका विपन्न, सडक बालबालिका, जोगी, र दैनिक ज्याला मजदुरहरुलाई चितवनका सूनचांँदी व्यवसायीहरुले दैनिक एकछाक खाना खुवाउन शुरु गरेका छन । चितवनका सुनचांँदी व्यवसायीसंँग सम्बद्ध ४ वटा संस्थाको समन्वयमा चैत्र २९ गतेदेखि भोजन खुवाउन शुरु गरिएको हो ।
लकडाउनको समयमा खाना नपाएर भोकै रहेका त्यस्ता वर्गलाई मानवीय धर्म निर्वाह गर्ने उद्धेश्यले दैनिक खाना खुवाउने अभियान शुरु गरिएको नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताए । ‘लकडाउनको समयमा राज्यसमेत उदासीन छ ,उनले भने, हामीले मानवीय धर्म र सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।’ उनका अनुसार दैनिक १२५ देखि १४० जनालाई त्यस्ता बेसहारालाई खाना खुवाईदिदै आइएको छ ।
पहिलो चरणमा बैशाख १५ गतेसम्म बिहानको खाना खुवाइने र लकडाउन लम्बिदै गएपनि भोजन खुवाउने कार्यलाई निरन्तरता दिइने संयोजक समेत रहेका रामुदामुको भनाई छ । हाल ती संस्थाले उद्योग वाणिज्य संघ, चितवनको परिषरमा भोजन वितरण गरिरहेको छ । महामारीको त्रास र जोखिमलाई मध्यनजर गरी होलबडी सेनिटाइजिङ्ग र सामाजिक दुरी कायम गरी दिनहु खाना दिईदै आइएको सुनचाँदी बचत तथा ऋण सहकारी संस्था चितवनका अध्यक्ष बाबुराम रामुदामुले बताए ।
मागेर सम्म खान नसक्ने, एकछाक पनि खान नपाउने व्यक्तिहरुलाई खान खुवाउंँदा समाजमा सकारात्मक सन्देश जाने उनको भनाई छ । संस्थामा कोष रकम अभाव भएपनि यस कार्यलाई निरन्तरता दिने अर्का व्यवसायी निलेनमान शाक्यले बताए । ‘कोषको रकम अभाव भएपनि , लकडाउन थपिएपनि हामी व्यवसायीले व्यक्तिगत पहलमा खाना खुवाउंँछौ’ उनले भने ।
खाना खुवाउन थालेपछि दैनिक दिनहुंँ त्यस्ता व्यक्ति बढिरहेकोले सोही अनुसार प्रबन्ध गरिएको सुनचाँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष रुवीन रामुदामुले बताए । ‘आज ९ दिनसम्म १हजार १सय ५ सहभागी भईसकेका छन ।’ उनले भने , दैनिक खाना खाने पनि बढिरहेका छन ।
’
उनका अनुसार चारवटै संस्थाको कोष रकम बाट उनीहरुलाई भोजन वितरण गरिएको छ । हाल नारायणगढ बजार वरिपरि रहेका त्यस्ता व्यक्तिहरुलाई लक्षित गरी खाना खुवाईएको हो । नेपाल सुनचांँदी व्यवसायी सघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो । उक्त अभियानमा व्यवसायी उत्सव खाती, विकास वर्मा, रमेश सदाशंकर, अमृत सदाशंकर लगायतको सहभागिता रहेको थियो ।