काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पारित गराएपछि नेकपा सचिवालय बैठक तत्कालै बस्यो। बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा यसबारेमा छलफल सुरु हुँदै गर्दा शीतल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश जारी गर्दै हस्ताक्षर गरिन्।
सोमबारको मन्त्रिपरिषदले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्ययादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्ने निर्णय गरेको थियो। यसमा सबैभन्दा तरंग राजनीतिक दलसम्मबन्धी अध्यादेशले ल्याएको छ।
धेरैले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तनाव चुलिइरहेका बेला ओलीले पार्टी फुटाउन यो अध्यादेश ल्याएको भन्दै धेरैले आलोचना गरे। नेकपाकै नेताहरुले पनि कोरोनाको संकटमा ओलीले देशमा राजनीतिक अस्थिरता ल्याउन खोजेको भन्दै आपत्ति जनाए। यसरी आपत्ति जनाउनेमा मणि थापा, हरिबोल गजुरेलदेखि रामकुमारी झाँक्रीसम्म थिइन्। ओलीको उक्त प्रस्वादमा मन्त्रिपरिषद्कै सदस्यहरु घनश्याम भुसाल, प्रदीप ज्ञवाली र वर्षमान पुनले पनि असहमति जनाएका थिए। मन्त्रिपरिषद् सकिएलगत्तै पूर्वमाओवादीका मन्त्रीहरुको त बैठक नै बस्यो। बैठकपछि तत्कालै ऊर्जा मन्त्री समेत रहेका पुन दौडिएर प्रचण्डनिवास खुमलटार पुगे। त्यहाँ प्रचण्डसँग छलफल हुँदै गर्दा यता ओलीले बालुवाटारमा पार्टी सचिवालय बैठक बोलाए।