logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तापक्रम घट्यो : वर्षाले आगलागी घटाउन सघाउने, कस्ताे छ आगामी २४ घण्टाको अवस्था ?

    तापक्रम घट्यो : वर्षाले आगलागी घटाउन सघाउने, कस्ताे छ आगामी २४ घण्टाको अवस्था ?

    6.9K
    Shares

    काठमाडौँ । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पूर्वको कोसीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र भोलि र पर्सी (मङ्गलबार) अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ ।

    विभागमा मौसमविद् सरोज पुडासैनीले मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको जानकारी दिँदै अब बढ्दो आगलागीलाई प्रभाव पार्ने गरी ठाउँठाउँमा वर्षा हुने राससलाई जानकारी दिए ।

    उनले हिजोदेखि नै तराईका जिल्लामा ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको जानकारी पनि दिए । यो क्रमशः घट्दै जाने उनले बताए । हिजो काठमाडौँमा २९.५ डिग्री तापक्रम थियो । हिजो सबैभन्दा धेरै धनगढीमा ३९.३ र भैरहवामा ३८ डिग्री थियो । वर्षाको सम्भावना रहेकाले तल्काल तापक्रम नबढ्ने उनले बताए ।

    केहीदिनअघि यसपाली तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो । पुडासैनीका अनुसार आज कोसीका केही स्थानमा र भोलि कोसी र गण्डकीका थोरै क्षेत्रमा पानी पर्ने र बाँकी पहाडी भूभागका केही क्षेत्रमा हल्लादेखि मध्यम वर्षाको सम्भावना छ ।

    पर्सी भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए । अब पर्ने पानीले कतिपय ठाउँमा भइरहेको आगलागी घटाउन सहयोग पुग्ने महाशाखाले जनाएको छ ।

    हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार सोही मौसमी प्रणालीका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

    आगामी २४ घण्टाको अवस्था 

    कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

    त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    अहिले वर्षा नहुँदा अत्यधिक गर्मीका कारण देशभर आगलागीका घटना बढिरहेको छ । ठाउँठाउँमा जनधनको ठूलो क्षति भएको छ भने वनजङ्गल डढेर सखाप भएको छ । वनबाट बस्तीका आगो सल्किँदा कतिपय जिल्लाका बस्ती नै जलेका छन् । दैनिक सयौँ स्थानमा आगलागी भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend