काठमाडौँ । सार्वजनिक तथा निजी लगानीको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट निर्माण सम्पन्न भएको छ ।
आयोजना निर्माण सम्पन्न भए पनि नेपाल विद्युत प्राधिकरणले २२० केभी चिलिमे त्रिशूली प्रसारण लाइनका साथै चिलिमे हबमा सबस्टेशन बनाउन ढिलाइ गर्दा आयोजनाबाट बिजुली उत्पादन अनिश्चित भएको विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ ।
यसअघि चैतभित्र बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । २२० केभी चिलिमे त्रिशूली प्रसारण लाइनअन्र्तगत चिलिमे हब सवस्टेशन पनि तयार नहुँदा विद्युत विद्युत उत्पादन अनिश्चित भएको कम्पनीले जनाएको छ ।
आयोजनाको इलेक्ट्रोमेकानिकलको केही पार्टको परीक्षण गर्न बाँकी रहेको छ । चिलिमे हब सबस्टेशनबाट १३२ केभीबाट व्याक चार्ज लिइ गर्नुपर्ने वेट कमिसनको परीक्षण बाहेक अन्य काम सकिएको कम्पनीले जनाएको छ ।
आयोजनाको समष्टिगत भौतिक प्रगति सत्प्रतिशत रहेको छ । गत पुसमा बाँधमा पानी भरेर सफल परीक्षण सकिएको छ । माघदेखि सिभिल संरचना, हाइड्रोमेकानिकल गेट र इलेक्ट्रोमेकानिकल उपकरणको चरणवद्ध परीक्षण भइरहेको रसुवागढीले जनाएको छ । यसैगरी ४ किलोमिटर लामो सुरुङमा पानी पठाएर गरिएको परीक्षण पनि सफल भएको छ ।
यसअघि असोजभित्र बिजुली उत्पादन लक्ष्य तय भएको थियो । त्यसबेला आयोजनाको समष्टिगत भौतिक प्रगति ९७ प्रतिशत थियो । समय थपिएसँगै आयोजनाको लागत बढेर १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । यो लागत निर्माण अवधिको ब्याजबाहेक हो ।
निर्माण अवधिको ब्याजसमेत थप्दा आयोजनाको लागत अझ बढ्ने छ। यसअघि आयोजनाको लागत बढेर निर्माण अवधिको ब्याजबाहेक १७ अर्ब ५६ करोड रुपैयाँ थियो । आयोजना ढिलाइ हुँदा लगात बढेर स्वपुँजी र ऋण संरचना परिवर्तन भएको छ ।
आयोजनाको लागत बढ्दै गएपछि रसुवागढीले कर्मचारी सञ्चय कोषसँग पछिल्लो पटक पुरक ऋण सम्झौत गरेको छ । बढेको लागत थप्न सञ्चय कोषले सम्झौता गरिसकेको छ । यसअघि स्वपुँजी र कर्मचारी सञ्चय कोषको ऋण लगानी आधा आधा हुने गरी थियो । अहिले लागत बढ्दा ६० प्रतिशत ऋण र ४० प्रतिशत स्वपुँजी लगानी हुने भएको छ ।
निर्माण सुरु हुँदा १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजबाहेक) लागत अनुमान गरिएको थियो । भूकम्प, नाकाबन्दी र बाढीले गर्दा आयोजनाको समय थपिएको र डलर महंगो भएका कारण लागत बढ्न गएको कम्पनीले जनाएको छ । निर्माणको चरणमा आयोजनाको लागत ४ अर्ब ७८ करोड रुपैयाँ थपिएको छ ।
आयोजना सञ्चालनबाट ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बेचेर वार्षिक ३ अर्ब २५ करोड आम्दानी गर्ने छ । रसुवागढी आयोजना २०७६ फागुन ७ मा सक्ने लक्ष्य थियो ।
त्यसपछि पटक–पटक आयोजनाको म्याद थप हुँदै आएको छ । सरकारले गत आर्थिक वर्ष सक्ने लक्ष्य लिएको थियो । यसअघि आगामी पुससम्म बिजुली उत्पादन गर्ने लक्ष्य विकासकर्ता रसुवागढीले जनाएको थियो ।
सरकारले पनि रसुवागढी आयोजना चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखेको छ । यसअघि २०७९ असारबाट बिजुली उत्पादन गर्ने लक्ष्य पछि धकेलिएपछि ६ महिना समय थपेर २०७९ पुस पुर्याइएको थियो । पुसमा पनि सम्भव नभएपछि फेरि तीन महिना थपेर चैतमा उत्पादन थाल्ने नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।
विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी, भोटेकोसी नदीमा आएको ठूलो बाढीले क्षति पुर्याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको समय थप भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
विद्युत प्राधिकरणसँग बिजुली खरिद–बिक्री सम्झौता (पिपिए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी भएको हो । प्रत्येक तीन महिनामा ब्याज सावाँमा पुँजीकरण हुँदै आएको छ । सञ्चय कोषले रसुवागढीसँग १०.५ प्रतिशत ब्याज लिँदै आएको छ ।
सन् २०१४ बाट आयोजना निर्माण सुरु भएको हो । आयोजनाको ४ हजार १ सय ८५ मिटर सुरुङ २०७६ भदौ ४ बाट तयार भइसकेको छ । आयोजना निर्माण तीन लटमा भएको छ । सुरुङलगायत हाइड्रोमेकानिकल संरचना निर्माण चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) ले गरेको हो ।
दोस्रो लटमा इलेक्ट्रोमेकानिकल उपकरणको काम भारतको भ्वाइथ हाइड्रो र प्रसारण लाइनको काम रोयल कन्स्ट्रक्सन कम्पनीले बाँकी काम सक्ने जिम्मा पाएको थियो । उसले पनि बाँकी काम सम्पन्न गरेको छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ छ ।
रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । आयोजनामा विद्युत प्राधिकरणको १८, चिलिमे जलविद्युत कम्पनी लिमिटेड ३२.७९, सर्वसाधारण १९.५, रसुवाका स्थानीयबासिन्दाको १५ र ऋणदाता संस्थाका कर्मचारीलाई १० प्रतिशत स्वामित्व छुट्ट्याइएको छ ।
नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान भएका छन् । आयोजना नेपाल–चीन सीमा नजिक गोसाइँकुण्ड गाउँपालिकामा पर्छ ।