logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक

    ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक

    644
    Shares
    ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक

    काठमाडौँ । चारदशक मानवीय सेवामा व्यतित गरेका नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापाद्वारा लिखित ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक सार्वजनिक भएको छ । यस अवधिमा उनले सोसाइटीको तीन कार्यकाल अध्यक्ष पदको कुशलदायी नेतृत्व प्रदान गरेका थिए ।

    विभिन्न ११ अध्यायमा तीन सय २६ पृष्ठको सो पुस्तकभित्र उनले आफ्नो कार्यकालमा भएका उपलब्धि तथा चुनौतीसहित नेपालमा रेडक्रस अभियानको इतिहासलाई जीवन्तरुपमा सरल भाषामा उजागर गरेका छन् ।

    पुस्तकभित्र रेडक्रसको तीन अङ्ग रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी), रेडक्रस एवं रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) र राष्ट्रिय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरुको कामका बारेमा जानकारी दिइएको छ ।

    साथै नेपाल रेडक्रसको स्थापनाका सन्दर्भ र हालसम्म आइपुग्दा यसले खेप्नुपरेका अरोहअवरोधलाई पुस्तकमा सटिक ढङ्गबाट विश्लेषण गरिएको छ ।

    अन्तर्राष्ट्रिय रेडक्रस एवं नेपाल रेडक्रसको अभ्युदय, रेडक्रसका मेरो प्रवेश र विभिन्न हैसियतमा रहँदा भएका प्रयास, अध्यक्षताको तीन कार्यकालमा गरिएका प्रयास, सञ्चालित कार्यक्रम र तिनको उपलब्धि, नेपाल रेडक्रसको स्वर्ण जयन्ती, रेडक्रसद्वारा सम्पादित काम र उपलब्धि, रेडक्रस र सरकाबीचमा सम्बन्ध, रेडक्रसले आगामी दिनमा चाल्नुपर्ने कदम, सेवादान र गोदाम घर निर्माण, समाजसेवा बद्लिँदो प्रवृत्ति र रेडक्रस कानुन शीर्षकभित्रका अध्यायमा थापाले आफ्ना अनुभवलाई पुस्तकमा लिपिबद्ध गरेका छन् ।

    नेपाली कांग्रेसका नेताद्वय विमलेन्द्र निधि, डा.मीनेन्द्र रिजाल, दिव्य शताब्दी पुरुष डा.गौरीलाल शङ्करदास र सोसाइटीका पूर्वमहामन्त्री देवरत्न धाख्वाले संयुक्तरुपमा ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तकको सार्वजनिक गरेका हुन् ।

    सो अवसरमा नेता निधिले मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसको सिद्धान्तअनुसार नेपाल रेडक्रसलाई सञ्चालन गर्नुपर्ने उनले बताए । उनले भने, “नेपाल रेडक्रसलाई राजनीतिक विवादको क्रिडास्थल र यसका कामलाई हस्तक्षेप गरिनुहुन्न । राजनीति आस्था र विचारले रेडक्रस हेरिनु हुँदैन । विपद्का समयमा मानवीय सेवा र सङ्कटासन्न समुदायको हित गर्ने यसको मूल ध्येयलाई कही कतैबाट विवादको विषय बनाइनुहुन्न ।”

    अर्का नेता डा.रिजालले मानवता र मानव सेवा गर्ने रेडक्रसको स्थापित उच्च राष्ट्रिय र अन्तराष्ट्रिय छविलाई खुस्काउने काम कहीँकतै कुनाबाट गरिन नहुने बताए । उनले भने, “रेडक्रस अभियान जान्न र बुझ्न चाहनेका लागि पुस्तक ऐतिहासिक दस्तावेज बन्न सक्छ । नेपाल रेडक्रसको साख जोगाउन पुस्तक सेतु बन्न सक्छ ।”

    वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले रेडक्रस जस्तो पवित्र संस्थालाई दलीय दलदलमा फसाउन खोज्ने र दलीयकरण गर्न खोज्ने दुवै प्रवृत्तिविरुद्धमा सङ्गठित आवाज उठान आवश्यक रहेको टिप्पणी गरे । उनले भने, “पुस्तक अन्तर्राष्ट्रिय रेडक्रस, यसको स्थापना, सिद्धान्त, यसमा संलग्न स्वयंसेवकको आचरण, व्यवहार, सेवामा लाग्ने आनन्द र सौन्दर्य, नेपालको इतिहास, विगत र वर्तमानका रुपमा पाठ्यक्रममा समावेश गर्दा नै हुन्छ ।”

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्वकार्यकारी निर्देशक तीर्थराज वन्तले नेपाल रेडक्रसको छविलाई पूर्ववत्रुपमा फर्काउन पुस्तकले सेतुका रुपमा काम गर्ने विश्वास व्यक्त गर्दै रेडक्रसप्रति चासो राख्नेलाई पुस्तक ऐतिहासिक दस्तावेज भएको बताए । उनले भने, “ पुस्तक रेडक्रसको इतिहास अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण दस्तावेजको सङ्कलन हो ।”

    नेपाल रेडक्रस सोसाइटीका पूर्वमहामन्त्री देवरत्न धाख्वाले सरल भाषामा लेखिएको पुस्तकले रेडक्रस अभियानलाई उजागर गर्दै यसका चुनौतीलाई समेत देखाइदिएको बताए । उनले भने, “रेडक्रस मानवीय सेवाको अभियान हो, यसमा दलगत विचार र आस्थाले प्रवेश पाउनुहुन्न ।”

    नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष एवं पुस्तकका लेखक थापाले आफूले मानवीय सेवाका बिताएका र भोगेका अनुभव र चुुनौतीलाई जस्ताको त्यस्तै पुस्तकमा समावेश गरेको जानकारी दिए । उनले भने, “पुस्तकमा विषय कसैको अनावश्यक प्रशंसा, कसैलाई अनावश्यक निन्दा र आफूलाई अगाडि देखाउने हिसाबले प्रस्तुत गरिएको छैन ।”

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्वनिर्देशक डा.विष्णुहरि देवकोटाले रेडक्रस के हो भनेर बुझ्नका लागि ‘रेडक्रस अभियान एक, सेवा अनेक’ पुस्तक महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गरे । कार्यक्रममा सोसाइटीका अध्यक्ष प्रा सुदर्शन नेपाल, कार्यकारी निर्देशक उमेश ढकाल, सोसाइटीका पूर्वउपमहामन्त्री हरि न्यौपाने, वरिष्ठ अधिवक्ता शम्भु थापालगायतको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend