काठमाडौँ । आउँदो ६ महिनामा काठमाडौं उपत्यकाभित्रका धेरै स्थानमा बिजुली आपूर्ति भूमिगत हुने भएको छ ।नेपाल विद्युत् प्राधिकरणले छ महिना भित्रमा काठमाडौँमा रहेका विद्युतीय पोल हटाउने भएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने भएको हो ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युतीय पोल हटाउने तयारी भएको जानकारी दिएको हो । पहिलो चरणमा पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।
त्यसपछि क्रमशः अन्य क्षेत्रमा विद्युत प्रणालीलाई भूमिगत बनाउने प्राधिकरणले जनाएको छ ।
उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युत्का पोलहरू क्रमैसँग हटाइने प्राधिकरणले जानकारी दिएको छ । विद्युत पोल हटाएपछि इन्टरनेटका तारहरु व्यवस्थापन गर्नुपर्ने चुनौति देखिएको छ । अहिले विद्युतका पोलबाट तारहरु लगेर इन्टरनेट सेवा प्रवाह भइरहेको छ ।
संरचना एवं उपकरणहरु नहटाएमा पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ’, प्राधिकरणले सूचनामा भनेको छ ।
प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना हटाउन भनेको छ ।
उक्त्त उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न समेत भनेको छ ।
प्राधिकरणले ०७६ सालदेखि काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम सुरु गरेको थियो । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु भएको थियो ।
प्राधिकरणका अनुसार भूमिगत विद्युत प्रणाली योजना अहिले काठमाडौं उपत्यकासहित पोखरा र भरतपुरमा पनि चलिरहेको छ ।