चितवन । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णविद्युतिकरण पालिका घोषणा गरिएको छ । शनिवार गाउँपालिकाको वडा नम्वर १ कालिङमा आयोजित एक कार्यक्रममार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्णविद्युतिकरण घोषणा गरेका हुन् ।
गाउँपालिका पूर्णविद्युतिकरण भएसँगै स्थानीयहरु हर्षित भएका छन् । गाउँपालिकालाई पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताए । उनले इच्छाकामनामा पूर्णविद्युतिकरण भनेपनि घरघरमा बिजुली बाल्न केही समय लाग्ने बताए । कार्यकारी निर्देशक घिसिङले घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्णविद्युतिकरण घोषणा गरिएको बताए ।
उनले मिटर वितरण र मिटर जोड्ने कामलाई तिब्रता दिने भन्दै गाउँपालिकाले सहजिकरण गर्न आवश्यक रहेको बताए । निर्देशक घिसिङले विपन्न समुदाय बसोवास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न वर्गमा निःशुल्क मिटर बक्स वितरण गरेको बताए । इच्छाकामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले धेरै सहयोग गरेको उनको भनाई छ ।
उनले बिजुली नपुगेको ठाउँमा बत्ती बाल्ने प्रमुख दायित्व प्राधिकरणको भएको भन्दै एक वर्षभित्र देशका शतप्रशितमा ठाउँमा बिजुली बाल्ने बताए । उनले पहिले विद्युत माग्दै नागरिक प्राधिकरणमा धाउनुपर्ने अवस्था रहेको बताए । उनले २० युनिटसम्मको बिजुली महिनाको जम्मा ३० रुपैयाँमा उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिए । उनले इच्छाकामनामा विद्युत मर्मत सम्भारका लागि सानो युनिट खोल्ने तयारी गरिएको भन्दै यहाँका चेपाङलाई नै रोजगार दिने बताए ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो एक वर्षमा इच्छाकामनामा दु्रत गतिमा विद्युतिकरणको काम गरिएको बताए । उनले विद्युत प्राधिकरण र स्थानियको सहयोगको कारण समयमै काम सम्पन्नको चरणमा रहेको बताए । अध्यक्ष गुरुङले विशेष गरेर चेपाङ बस्ती रहेको वडा नम्बर १ र २ मा बिजुली पुग्न नसकेको क्षेत्रको विद्युत पुर्याउन पालिकामा एक वर्षको प्राप्त हुने बजेट बराबरको बजेट विद्युत प्राधिकरणबाट प्राप्त भएपछि सम्भव भएको बताए ।
उनले गाउँपालिका र प्राधिकरणबाट विपन्नलाई निःशुल्क मिटरबक्स, तार र केही एमसिबी समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताए । लालपूर्जा नभएकालाई मिटरबक्सका लागि एक हजार धरौटी राख्ने व्यवस्था रहेकोमा अवस्था हेरेर तिर्न नसक्ने विपन्नका लागि गाउँपालिकाले नै जम्मा गरिदिने उनले बताए ।
इच्छाकामना गाउँपालिकामा करिव ६२ सय घरधुरी छन् । गाउँपालिकामा विद्युतिकरणका लागि १५ करोड ४७ लाख खर्च भएको भएको छ । त्यसमा वडा नम्बर १ मा १ करोड ७५ लाख,वडा नम्बर २ मा ४ करोड ६७ लाख,वडा नम्बर ३ मा ४६ लाख,वडा नम्बर ४ मा १ करोड २४ लाख,वडा नम्बर ५ मा १ करोड ८ लाख,वडा नम्बर ६ मा ५ करोड ७१ लाख र वडा नम्बर ७ मा ५३ लाख बजेट विनियोजन भएको थियो ।
यस योजनाअन्तर्गत पालिकामा २५ सय पोल गाडिएको र १३ वटा ट्रान्सफर्मर थपिएको छ । प्राधिकरणको निर्देशनअनुसार नै चेपाङ समुदायलाई निःशुल्क मिटरबक्स उपलब्ध गराइरहेको छ । पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा स्थानियलाई निःशुल्क मिटरबक्स समेत वितरण गरिएको थियो ।