काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरुको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।
फोहोर बोक्ने सवारी (गाडी) का चालकहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुलाई रिहा नगरेसम्म फोहोर नउठाउने उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले लेखेका छन् : ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म चालकहरुलाई स–सम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन !’
बन्चरेडाँडामा फोहोर बोकेर जाने सवारीसाधनलाई अवरोध भएपछि काठमाडौँको कोटेश्वर क्षेत्रमा फोहोर बोकेका टिपर लगायतका गाडीहरु पार्किङ गरेर बसेपछि ट्राफिकले पक्राउ गरेको जनाइएको छ ।