काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् । सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको ओलीको भनाई छ।
उनले सहकारी संस्थाहरु बदनाम र संकटग्रस्त नभएको जिकिरसमेत गरे । पार्टी निकट जनवर्गीय संगठन संयन्त्रद्वारा काठमाडौंमा शुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै अध्यक्ष ओलीले सहकारीहरु नियममा बसेर अघि बढने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत बताए ।
उनले सहकारीको माध्यमबाट भए पनि महिलाहरु उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरुले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरुले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।
उनले भने, ‘साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यमबनाएर ठगेर खानेहरु सहकारी प्रवेश गरेको हुनाले केही सहकारी ठूलो सहकारी बद्नाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन् ।’
तर साँच्चैका सहकारीहरु संकटग्रस्त हुँदैनन्, छैनन् पनि । त्यसमा आफ्ना नियमहरु छन् । ती नियम अन्तगत त्यसमा नियममा बसेर त्यसको पालना गरेर हामी अगाडि बढ्नुपर्छ । महिला दिदीबहिनीहरुले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्छ । महिला दिदीबहिनीहरुले घर, परिवार र देश केहीँ पनि पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनु पर्दछ ।’
सहकारी अपचलनबारे छानबिन गर्न मंगलबार संसदीय समिति बनेको छ। संसदीय समितिले २९ वटा सहकारीहरूको रकम अपचलन, हिनामिना, दुरूपयोगको अवस्था हेरेर तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डे, ईश्वरदेवी न्यौपाने, माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल, एमाले सांसद सरिता भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधान सदस्य छन्।