logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    819
    Shares
    महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छन् । बुधवार नेकपा(एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी हुन् ।

    उनले महिलाहरुले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरुका साथै राष्ट्रिय मुद्दाहरुमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन् । उनले महिलाहरुले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेण्डाहरुमा पनि नेतृत्व लिनुपर्ने बताइन् ।

    पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तिकरणका अभियानहरु महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मुल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको बताइन् । उनले व्यक्तिगत सचेतना वा सशक्तिकरणमा मात्र सिमित नभइ महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रुपान्तरणको विषयसँग जोड्नुपर्ने बताइन् ।

    उनले भनिन् – ‘लैंगिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले यस सम्बन्धमा समान धारणा र बुझाइ निर्माण गर्नका लागि सचेतना तथा सशक्तिकरणका अभियानहरु सञ्चालन गर्दा महिला र पुरुष दुवैलाई लक्षित गरिनुपर्दछ । महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मुल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक, आर्थिक व्यवस्था हो । तसर्थ हामीले व्यक्तिगत सचेतना वा सशक्तिकरणमा मात्र सिमित नभइ महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रुपान्तरणको विषयसँग जोड्नुपर्दछ ।

    म के जोड दिन चाहन्छु भने नेतृत्वमा रहेका महिलाहरुले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरुका साथै महत्वपूर्ण राष्ट्रिय मुद्दामा समेत पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्दछ । वर्तमान नेपालको संविधानले जनताका आधारभुत अधिकारहरुलाई मौलिक हकको रुपमा सुनिश्चित गरिसकेको सन्दर्भमा अब संविधानप्रदत्त मौलिक हकको व्यवहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अगाडी बढाउनुपर्ने दायित्व अब हाम्रो काँधमा आएको छ । राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरु झेलिरहेको छ ।

    यि चुनौतीहरुबाट पार पाउनका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र युवा जनशक्तिको सदुपयोग गर्दै उद्योगको विकासमार्फत् स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वावलम्बि र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्दछ ।’

    उनले महिलाहरुको जनस्वास्थ्यमा गम्भीर चुनौति देखापरिरहेको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । उनले महिलाको स्वास्थ्य नराम्रो भएमा परिवारले दुःख पाउनुका साथै देशले नै क्षति व्यहोर्ने भन्दै यसप्रति सचेत हुनुपर्ने बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend