धुलिखेल अस्पतालमा कोरोनाको कारणले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको खबर शनिबार दिउँसोबाट चारैतिर मिडियामा फैलिसकेको थियो । सरकारले कोरोनाकै कारण उनको मृत्यु भएको घोषणा नगरेपनि स्थानीय प्रशासनले अस्पतालको रिपोर्टलाई आधार मानेर शव कसरी व्यवस्थापन गर्ने भनेर छलफल सुरु गरिसकेको थियो । दुई पटक परीक्षण गर्दा पनि कोरोना देखिएपछि अस्पताल र स्थानीय तहले बिषेश खालको तयारी गरिरहेका थिए ।
तैपनि थप पुष्टि गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको रिपोर्ट नआएसम्म सबैमा अन्योल नै थियो । साँझतिर घटना बारे बुझन स्वास्थ्य मन्त्रालयबाट डा. गुणराज लोहनीसहितको टोली धुलिखेल नै पुग्यो । मृतकको शव छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने मन्त्रालयले बनाएको कार्यविधिमा उल्लेख भएकोले टोलीको सुझावको आधारमा ती महिलाको शव अन्त्येष्टि गर्नुपर्ने भयो ।
शवको पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गर्ने निर्णय भयो । त्यसपछि प्रशासनले काभ्रेको एम्बुलेन्स र शव वाहनलाई आग्रह गर्यो । तर, कसैले मानेन् । अब भने काभ्रे प्रशासनलाई आपत पर्यो ।
काभ्रेको सुरक्षा निकायले भक्तपुरसँग सहयोग माग्यो । भक्तपुरमा भने महानगरीय प्रहरी परिसर र विरदल गणले निजी गाडीलाई कोभिड एम्बुलेन्स बनाएको थियो ।
जब – जब देशमा संकट आइपर्छ, तब–तब योद्धाहरुको आवश्यकता पर्दछ । राजनीतिक परिर्वतन होस् वा प्रकृतिक संकटको समयमा अग्रभागमा खटिने र नेतृत्व गर्नेहरुको खाँचोहुन्छ ।
आइतबार कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापनमा खटिएका आरएनए–१६ समूहको चौतर्फी प्रशंसा भइरहेको छ । चुनौतिपूर्ण काममा फ्रन्टलाइनमा खटिएका अरुण र राजेश यतिबेला सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणले व्यवस्थापन गरेको आइसोलेसन कक्षमा छन् ।
सुनौलो नेपाल सँग कुरा गर्दै अरुणले भने ‘आरएनए–१६ समुहमा हामी १ सय ८५ जना छौँ, अहिले विशेष कोरोनाको लागि भनेर हामी चार जना खटिएका छौं ।’