कोरोना भाइरसको सन्त्रासका बीच खाद्य सामग्रीमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना (साउन-चैत)सम्मको आँकडाअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ।
यस अवधिमा औसतः मूल्यवृद्धि भने ६.७४ प्रतिशत रहेको छ । समग्र मूल्य वृद्धिदरलाई नियन्त्रणभित्र राख्न गैरखाद्य तथा सेवा समूहले सहयोग गरेको हो । यी समूहको मुद्रास्फीति ४.४८ प्रतिशत देखिएको छ।
नेपाल राष्ट्र बैङ्कले नेपालीको भान्सामा प्रयोग हुने धेरै जसो खाद्यवस्तुको मूल्य वृद्धिदर उच्च रहेको छ । तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च देखिएको छ । यसअवधिमा गैरखाद्य तथा सेवासमूहतर्फ शिक्षा, स्वास्थ्य, लुगा तथा जुत्ता उपसमूहको मुल्यवृद्धि सामान्य देखिएको छ।
सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौं उपत्यकामा
राष्ट्र बैङ्कका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । यस अवधिमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशतको मूल्यवृद्धि भएको छ । तराई जिल्लामा ७.०४, पहाडी जिल्लामा ५.८४ र हिमालमा ४.८३ प्रतिशतको मूल्यवृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चैतसम्म यी क्षेत्रमा क्रमशः ४.७४, ३.९५, ४.८० र ६.२० प्रतिशतको मूल्यवृद्धि रहेको थियो ।