एजेन्सी । हिमाचल प्रदेशको मन्डी सिटबाट लोकसभामा विजयी बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड हानिएको छ ।
केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) एकजना महिला जवानले उनलाई बिहीबार विमानस्थलमै थप्पड हानेकी हुन् । यस मामिलालाई लिएर कंगनाले प्रहरीमा निवेदन दिएकी छन् । सीआईएसएफकी महिला जवानले कंगनाद्वारा किसान आन्दोलनमा महिलाबारे एक विवादित वक्तव्य दिएको भन्दै थप्पड हानेकी हुन् ।
कंगनाको यही भनाइलाई लिएर आक्रोशित ती महिला जवान कुलविन्दर कौरले थप्पड हानेकी हुन् । कुलविन्दरलाई अहिले हिरासतमा लिइएको छ । यो घटना बिहीबा दिउँसो ३ बजेर ३० मिनेटमा भएको हो । कंगना चन्डीगढबाट दिल्ली जान तयार थिइन् । सुरक्षा जाँचका क्रममा सीआईएसएफकी महिला जवान कुलविन्दर कौरले त्यही क्रममा थप्पड हानिन् ।
त्यसपछि कंगनासँगै रहेका मयंक मधुरले कुलविन्दर कौरलाई थप्पड हान्ने कोसि गरे । यस घटनालाई लिएर कंगनाको तर्फबाट प्रहरीमा जाहेरी दिइएको छ । थप्पड खाएपछि कंगना दिल्ली गइसकेकी छन् । कंगना रनौत आफ्नो फिल्मका साथै विवादित र तिखा टिप्पणीका लागि परिचित छिन् ।
बलिउडमा नेपोटिज्मको मुद्दालाई लिएर उनले कयौँ पटक बोलिसकेकी छन् । एक घटनामा उनीविरुद्ध बलिउडका दिग्गज हस्ती जावेद अख्तरले मानहानीको मुद्दा पनि दर्ता गरेका थिए ।
कंगनाले हालै भएको लोकसभा निर्वाचनमा ५ लाख ३७ हजार २२ भोटसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी विक्रमादित्य सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याए ।