काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै सो प्राधिकरण बनाएर अघि बढने बताएका हुन् ।
उनले सो प्राधिकरण गठन प्रक्रिया केही समय भित्रै शुरु हुने जानकारी समेत दिए । सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यस सम्बन्धि बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर सो प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।
त्यस अवसरमा उनले आफ्नै पार्टी भित्र पनि सहकारी समस्या देखिएको आफू पनि त्यसको पीडामा परेको गुनासो पनि गरे । सहकारीलाई त्यसको मुलभुत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यामजस्तो बनाईसकेपछि विकृति त देखा पर्नु अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको पीडाबाट नागरिकलाई मुक्त गराउन सरकारले प्रयास गरिरहेको बताए ।
उनले भने, ‘सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रुपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याईपुर्याइएकोछ । बोेर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ । प्राधिकरणभन्दा बाहिर गएर अहिले विद्यमान संरचना भित्रबाट सहकारी समस्या समाधान हुन्छ भन्ने कुरा सम्भव छैन भन्ने ठाउँमा पुगेको छ । र, मलाई लाग्छ–अव केही समय भित्रै हामी त्यो प्रक्रिया अघि बढाउन सक्छौं भन्ने विश्वास अहिले मलाई भएको छ ।
त्यसकारण मैले अहिले सरकारको तर्फबाट तपाईहरुलाई सुनाउने एउटा नयाँ कुरा भनेको यही नै हो । हाम्रो भित्र पनि सहकारीलाई सहकारीको मूलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर त्यसलाई पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यामजस्तो बनाईसकेपछि विकृति त देखा पर्नु नै थियो, पर्यो । विकृति त अपरिहार्य नै थियो । त्यो विकृति देखापर्यो । यहाँ अहिले प्रश्न आयो–फलानो पार्टी र अर्को पार्टी भन्ने । यति मात्रै छैन । हाम्रै पार्टीसँग सम्बन्धित साथीहरु पनि जसले सहकारी खालेर काम गर्न भनेर शुरु गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । किनभने ती सहकारी खोल्ने साथीहरुले जस्तो मलाई अरुले सताएका छैनन् ।’
प्रधानमन्त्री दाहालले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको जिकिर पनि गरे ।