काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरुलाई केही दिनभित्रै निलम्वन गरिने बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले अस्पतालहरुमा अनियमितता हुने गरेको भन्दै केही दिन भित्र अनियमितता गर्नेहरुलाई निलम्वन तथा कारबाही गरिने बताएका हुन् ।
उनले अनियमितता गर्नेहरुलाई रंगेहात पक्रेर आफैँले अख्तियारमा पठाउने बताए । उनले अस्पतालहरुमा भएको बेथिति रोक्न र दोषिलाई समात्न मन्त्रालयले चाँडै नै अस्पतालहरुमा टिम परिचालन गर्ने बताए । उनले राज्यले आमा सुरक्षा कार्यक्रममार्फत अपरेशन गरेर बच्चा जन्माउने आमामा लागि १० हजार रुपैयाँ दिएको भएपनि सम्बन्धितले सो रकम नपाएका बताए । उल्टै आमालाई नै रकम तिराएर अनियमितता भइरहेको भन्दै त्यहाँ पनि आफ्नो ध्यान पुगेको बताए ।
उनले राज्यले दिएको सेवा, सुविधा नागरिकलाई नदिएर अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती दिइरहेको भन्दै दोष चाहीँ मन्त्री र उच्चपदस्थ व्यक्तिहरुमा जाने गरेको बताए । उनले दोषीउपर सबैलाई कारबाही गरिने चेतावनी दिए ।
उनले भने – ‘आमा सुरक्षामा सरकारले १० हजार रुपैयाँ एउटा आमाको सुरक्षाको लागि दिइरहेको छ । खास गरेर अप्रेशन गरेर बच्चा जन्मिएको आमाको लागि । तर अधिकतम आमालाई राज्यको पैसा पुगिरहेको छैन । त्यहाँ नागरिकसँग ठगि भइरहेको छ । उल्टो पैसा तिराउने काम भइरहेको छ । राज्यले १० हजार रुपैयाँ दिनुपर्ने उल्टो ऊ आमाले पैसा तिरेर गइरहेको छ । त्यो गरिबले कसरी राज्यप्रति विश्वास गर्छन् ? गालि गर्दैनन् नेताहरुलाई ? मन्त्रीहरुलाई ? त्यहाँको सांसदलाई ? त्यहाँको मेयरलाई ? त्यहाँको वडाअध्यक्षलाई ? त्यहाँको स्थानीय पत्रकाले गालि खाँदैन ? आज नेतामाथि किन खनिएका छन् नागरिक ? बिगार्छ अरुले गालि खान्छ नेताले ।
मैले मिहिन तरिकाले काम गरिरहेको छु । तपाईहरुको साथ, सहयोग भयो भने केही दिन भित्रमा धेरैजना सस्पेन्ड हुन्छ । धेरैजना कारबाहीमा पर्छन् । धेरै जनाको मुद्दा अख्तियारमा म आफैँ पठाउँछु । रंगेहात समातेर । त्यसको लागि मैले हरेक अस्पतालमा चाँडै टिमको गठन गर्न लागेको छु । त्यो टिमले बेथिति रोक्छ र समात्छ । राज्यले नागरिकको सस्तोमा उपचार होस् ।
निःशुल्क उपचार होस् भनेर पैसा दिने । त्यहाँको अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती गर्ने ? ठग्ने ? अनि दोष मन्त्रीलाई जाने ? दोष सचिवमाथि जाने ? दोषि डिजीमाथि जाने ? दोष त्यहाँको माननीयलाई जाने ? यो विषयमा म गहन तरिकाले काम गरिरहेको छु ।’
मन्त्री यादवले चिकित्सकहरुलाई सुगमस्थानबाट अन्य स्थानमा सरुवा नगर्न ठूलो स्तरबाट दबाब आउने गरेको बताए । उनले मन्त्रीको कुर्सि नै हल्लिने गरी चिकित्सक सरुवा नगर्न दबाब आउने गरेको बताए । उनले सरुवा भएको ठाउँमा चिकित्सक जानैपर्ने अडानमा मन्त्रालय रहेको भन्दै निर्णयबाट पछाडी नफर्किने स्पष्ट पारे ।
उनले भने – ‘कहीँ यस्तो छ की, एउटै विशेषज्ञ १९ जना छन् । कुनै अस्पतालमा छैन । त्यहाँ पठाउँ भने तल्लो स्तरबाट पावर आउँदैन ठुलो स्तरबाट प्रेसर आउँछ । किन पठाएको ? त्यहीँ रहोस् । त्यो मेरो मान्छे हो । धेरै आउँछ, नेपाल सरकारले फ्रिमा एमडी पढाएको छ, उहाँहरुलाई नीतिगत तरिकाले मन्त्रालयले दुई वर्ष सेवा गर्नका लागि विभिन्न अस्पतालमा निर्णय गरेर पठाएको हुन्छ ।
नजाने, म डाँडाँकाँडा किन जाने ? सुगममा रहन्छु भन्ने पावर आउँछ । यस्तो पावर आउँछ कि कुर्सि हल्लिइहाल्छ । तर सचिवज्युहरुलाई निर्देशन दिएको छु, कुनै इफ, बट् हुँदैन । जो सरुवा भयो, भयो । त्यो ठाउँमा जानैपर्छ । कुनै पावरमा ब्याक हुँदैन । कसैको पावरमा ब्याक हुँदैन । कसैको वातावरणमा समस्या भयो, स्वास्थ्यमा समस्या भयो भने त्यसलाई बिचार गरौँला । उसलाई पछि हेरौँला । तर हाजिर जहाँ सरुवा भएको छ त्यहाँ हाजिर हुनैपर्छ । समस्या नबुझिकन स्वास्थ्य मन्त्रालयले त्यहाँबाट हटाउँदैन ।’
मन्त्री यादवले संघीय अस्पतालहरुमा धेरै कमजोरीहरु रहेको र व्यापक सुधारको आवश्यकता रहेको भन्दै आफू सुधारको काममा लागेको बताए ।