काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए ।
शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायीसँग नेपालमा लगानी ग्रह आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।