काठमाडौं । नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले सरकारको विपद् पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकुल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको बताए । उनले विपद् पूर्वतयारीबाटरे सरकारको तयारी सन्तोषजनक नरहेको बताए । उनले विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए । विपद् उद्धारका लागि दक्ष जनशक्ति र पर्याप्त श्रोत साधन पनि नरहेको बताए ।
उनले भने, ‘जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकुल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको छ । तर त्यस आधारमा हाम्रो नेपालको, विशेष गरीकन सरकारको तयारी त्यति सन्तोषजनक छैन । विपद् प्राधिकरण बनाएका छौँ, यो कामको निम्ति, जम्मा वार्षिक १८ करोड बजेट विपद् प्राधिकरणलाई दिइएको छ, जसमा १५ करोड साधारण खर्च छ ।
तल भत्ता, पारिश्रमीकमा छ । जम्मा ३ करोड रुपैयाँले विपद् प्राधिकरणले के गर्नसक्छ ? त्यसै गरीकन हामीसँग दक्ष जनशक्ति छैन । हामीसँग आधुनिक साधनहरु छैनन् । जसले समयमै उद्धार हुनसक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन ।’
सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालामा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्न माग गरे ।