काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि १२ कम्पनीले प्रस्ताव पेश गरेका छन् ।
चितवनको भरतपुरमा बजेट अभावका कारण अलपत्र बनेको रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रो पटक टेण्डर आव्हान गरिएको थियो । दोस्रो पटकको आव्हानमा १२ कम्पनीले निर्माणका लागि प्रस्ताव पेश गरेका हुन् ।
प्रस्ताव गरेका १२ वटै कम्पनीको प्राविधिक मूल्याङ्कन सकिएको भरतपुर महानगरापलिकाले जानकारी दिएको छ । महानगरका अनुसार अब आर्थिक प्रस्ताव खोलिने छ ।
चालु आर्थिक वर्षको असार महिनाभित्रै रंगशालाको बाँकी काम अगाडि बढाउने गरी ठेकेदार कम्पनीसँग सम्झौता गर्ने तयारी महानगरले गरेको छ ।
रंगशाला निर्माणका लागि डाँफे, खानीखोला, रविना कालीगण्डकी जेभी, ओम साइराम, प्रेरा, गौरीपार्वती, यामे, सगुन कन्ष्ट्रक्सन, खानी निर्माण, हनुमान, रोशन कन्ट्रक्सन, लामा डाइनामिकजेभीले टेण्डर हालेका हुन् ।
यसअघि ३० दिनको म्याद राखेर गत फागुन १७ गते आब्हान गरिएको टेण्डर विवादित भएपछि महानगरपालिकाले रद्द गरेको थियो ।
महानगरले गत जेठ ३ गते दोस्रोपटक पुनः टेण्डर आह्वान गरेको थियो ।
थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिएको हो ।
ङ्गशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण हुनेछ ।
बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रङ्गशाला निर्माण गर्न लागिएको हो । कूल लागतको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले लगानी गर्नेगरी निर्माण गर्न लागिएको हो । महानगरपालिकाले गर्ने साझेदारीमा संघीय सरकारलेसमेत सहयोग गर्ने जनाइएको छ ।
रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न ३ अर्ब रुपैयाँ भन्दा बढी खर्च लाग्ने छ ।
पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ ।
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माण अघि बढाइएको बताए ।
यो समय सकिएपछि थप गर्न मिल्नेगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहमतिमा जग्गा लिइएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला निर्माण थालिएको थियो ।
विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै संघ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताए ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ ।
धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दैं २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।
महानगरले पहल गरेसँगै काम अघि बढेको हो ।
यो पनि पढ्नुहोस्:
१ अर्ब २७ करोडमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने