logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • डलर महँगिएर राख्यो नयाँ रेकर्ड, अझ बढ्ने प्रक्षेपण

    डलर महँगिएर राख्यो नयाँ रेकर्ड, अझ बढ्ने प्रक्षेपण

    2.3K
    Shares
    डलर महँगिएर राख्यो नयाँ रेकर्ड, अझ बढ्ने प्रक्षेपण

    काठमाडौं । अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग धेरै कमजोर हुन पुगेको छ ।

    अब १ डलर किन्न १३४.१५ रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार डलरको यो भाउ अहिलेसम्मकै उच्च हो ।

    अघिल्लो साता डलर महंगिएर १३४.०१ रुपैयाँ पुगेको थियो । शुक्रबार उक्त दरलाई तोड्दै नयाँ रेकर्ड कायम राखेको छ ।

    सामान्य उतारचढाव आए पनि गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलर बराबर १३३.५७ रुपैयाँ कायम भएको थियो । १ डलर बराबर १३२ रुपैयाँ हारहारीमा आएकोमा फेरी नयाँ रकेर्ड कायम राखेको छ ।

    भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । शुक्रबार १ डलरबराबर ८३.५९ भारु पुगेको छ । डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो ।

    भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।

    रुस–युक्रेन युद्ध र पछिल्लो समय इरानले इजरायलमाथि आक्रमणका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो । डलर बलियो भएपछि भारु कमजोर हुँदै गएको छ ।

    नेपाल र भारतमा मात्र होइन, विश्वबजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन् ।

    विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको तथ्याँक छ । यद्यपि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले डलरको कारोबार घटाउँदै लगेर ४२ प्रतिशतमा झारेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतजस्ता उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ । डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन बल पुगेको छ । विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ ।

    २०८० असार मसान्तको तुलनामा २०८१ बैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.६१ प्रतिशत अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७९ प्रतिशतले अवमूल्यन भएको थियो ।

    २०८१ बैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३३.३१ रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयँ थियो ।

    उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइरहने छ ।

    अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । छिमेकी भारतमा डलर सञ्चिती बढेर ६ अर्ब ४२ अर्ब डलर पुगिसकेको छ ।

    डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ ।

    गत वैशाखसम्म विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको सात महिनामा विदेशी मुद्रा सञ्चितीले नयाँ रेकर्ड कायम राखेको छ ।

    विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा
    २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।

    डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ ।

    डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढेको छ ।

    यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।

    अझ बढ्ने प्रक्षेपण

    आगामी तीन आर्थिक वर्षमा अमेरिकी डलर बलियो भई नेपाली रुपैयाँ झनै कमजोर हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले डलरको मूल्य बढेर नयाँ कीर्तिमान राख्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।

    मध्यकालीन खर्च संरचनाको अन्तिम आर्थिक वर्ष २०८२/०८३ मा १ डलरबराबर १ सय ३६ रुपैयाँ ९ पैसा पुग्ने अनुमान छ । यस्तै २०८०/०८१ मा १ सय ३३.६ र २०८१/०८२ मा १ सय ३४.२ पुग्ने अनुमान छ ।

    फेडेरल रिजर्भले एक वर्षभन्दा केही बढी समय अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरिसकेको छ ।
    फेडले २०२२ मार्चदेखि आफ्नो महत्वपूर्ण कर्जा दरलाई ५ प्रतिशत अंकले बढाइसकेको छ । ब्याजदर ५ देखि ५.२५ प्रतिशतको दायरामा पुगेको छ ।

    यो पनि पढ्नुहोस् :

    अमेरिकी डलर महंगिएर नयाँ रेकर्ड, १३६ रुपैयाँको बाटोमा लागेको हो ?

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend