काठमाडौं । कोशी प्रदेशमा रहेका उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४०.९ प्रतिशत मात्र थियो ।
नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा उद्योगहरुको औसत क्षमता बढेको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कोृशी प्रदेशका नमूना छनोटमा समेटिएका ४३ वटा उद्योगहरुको समीक्षा अवधिमा चप्पल, टायर तथा ट्युव, जिआई तार, बिस्कुट, चिनी उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा वृद्धि हुँदा उद्योगहरुको औसत क्षमता उपयोगमा समेत केही वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा चप्पल, तोरीको तेल, चाउचाउ, प्रशोधित चिया, बिस्कुट र जुटका सामान उत्पादन गर्ने समूहका उद्योगहरु रहेका छन् । यस्तै कम क्षमता उपयोग गर्ने उद्योगहरु वनस्पति घिउ, ईंटा, कच्चा छाला, गार्मेन्ट र भटमासको तेल उत्पादन गर्ने समूहका उद्योगहरु रहेका छन् ।
चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ७८.८ प्रतिशत रहेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.९ प्रतिशत छ । औसतमा ५० प्रतिशत वा सो भन्दा बढी क्षमता उपयोग गर्ने उद्योग समूहहरु जम्मा ११ ओटा रहेका छन् भने ५० प्रतिशत भन्दा कम क्षमता उपयोग गर्ने उद्योग समूहहरुको संख्या १४ छ ।
उद्योगहरुको उत्पादन वृद्विदर
आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ईंटाको उत्पादन सबैभन्दा बढी १ सय २८.६ प्रतिशत वृद्धि भएको छ । भटमासको तेलको उत्पादन सबैभन्दा बढी ५५.८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ईंटाको उत्पादन शुन्यप्राय रहेकोमा समीक्षा अवधिमा सामान्य मात्रामा ईंटाको उत्पादन भए पनि उत्पादन वृद्धि भने उल्लेखनिय मात्रामा बढेको देखिन्छ ।
विगतमा नेपाली बजार भन्दा भारतीय बजारमा उत्पादन लागत बढी भएका कारण नेपालबाट भटमासको तेल निर्यात भइरहेको तर केही वर्षदेखि भारतिय बजारको उत्पादन लागत कम भएका कारण नेपालमा उत्पादित भटमासको तेल निर्यात गर्न नसकिने अवस्था भई तेल उद्योगहरु महिनामा लगभग १० दिन मात्र सञ्चालन हुँदै आइरहेका कारण भटमासको तेलको उत्पादन निरन्तर घट्न गएको केन्द्रीय बैंकले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा टायर तथा ट्युव उत्पादन ९७, पशुदानाको उत्पादन ७३.९, जिआई तार उत्पादन ४२, चप्पल उत्पादन ३८.९, चिनी उत्पादन ३५.९, फलामे छड, पत्ति तथा सामानहरुको उत्पादन १९ प्रतिशत थियो ।
यस्तै वनस्पति घिउको उत्पादन १५.८ प्रतिशत वृद्धि भएको छ भने घरेलु धातुका सामानको उत्पादन ५२.१, गार्मेन्ट उत्पादन ५०.३, सिमेन्ट ३४.९, चामल उत्पादन १७.२, सिन्थेटिक कपडा १३.२, साबुन उत्पादनमा ९.२ प्रतिशत घटेको छ ।
टायर तथा ट्युव उत्पादन गर्ने उद्योगले उत्पादनमा विविधिकरण गर्दै देशभरी आपूर्ति गर्न थालेका कारण टायर तथा ट्युवको उत्पादन बढेको देखिन्छ । पशुदाना उत्पादन गर्ने उद्योगले नयाँ प्लाण्ट सञ्चालनमा ल्याएका कारण उत्पादन बढेको देखिन्छ । ऊखु किसानले समयमै भुक्तानी पाउन थालेसँगै उखुको उत्पादनमा वृद्धि भएका कारण चिनीको उत्पादन बढेको देखिन्छ ।
अनियमित विद्युत आपूर्ति, आयातित वस्तुसँगको प्रतिस्पर्धात्मक क्षमतामा कमी, दक्ष कामदारको अभाव, घरेलु बजारमा मागमा आएको कमी तथा गत वर्षको मौज्दात बाँकी रहेका कारण घरेलु धातुका सामान, गार्मेण्ट, सिन्थेटिक कपडा आदिको उत्पादन घटेको छ । ठूला आयोजनाहरुको निर्माणले गति लिन नसक्नुका साथै सार्वजनिक निर्माणमा आएको कमीका कारण सिमेण्टको उत्पादन घटेको देखिन्छ भने भारतबाट धान आयात गरी चामल उत्पादन गर्नुपर्ने र भारतीय चामलसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकोले मूल्य प्रतिस्पर्धी हुन नसकेका कारण चामलको उत्पादन घटेको देखिन्छ ।
तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा खासै अन्तर नभएकोले उत्पादन लागत बढ्न गई बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण सावुनको उत्पादन घटेको छ ।
औद्योगिक क्षेत्रमा रोजगारीको अवस्था
अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरुमा गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशमा १७ हजार ५ सय ५८ जना श्रमिक कार्यरत रहेका थिए । समीक्षा अवधिमा ती उद्योगहरुमा जम्मा १७ हजार ७ सय २० जना श्रमिक कार्यरत रहेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशत बढी हो ।
सुनसरी र मोरङ जिल्लाका उद्योगहरुमा क्रमशः २.६ प्रतिशत र ०.२ प्रतिशत थप रोजगारी सिर्जना भएको छ । यसैगरी इलाम, झापा र उदयपुर जिल्लामा रहेका उद्योगहरुबाट क्रमशः १४.७, ९.४ र ८.४ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।
यस अवधिमा औद्योगिक रोजगारीमा पुरुषको संख्या ६८.४ र महिलाको संख्या ३१.६ प्रतिशत छ । अध्ययन क्षेत्रका उद्योगहरुमा कुल औद्योगिक रोजगारीको ९२.४ प्रतिशत श्रमिक स्वदेशी र ७.६ प्रतिशत श्रमिक विदेशी छन् । विशेष गरी फलामको छड, पत्ति तथा सामान, ईटा, धागो र जुटका सामान उत्पादन गर्ने उद्योगहरुमा तुलनात्मक रुपमा अन्य उद्योगहरुमा भन्दा बढी अनुपातमा विदेशी कामदारहरुलाई रोजगारी प्रदान गरिएको देखिन्छ ।
बैंकको १ खर्ब ३० अर्ब औद्योगिक कर्जा
२०८० असारको तुलनामा २०८० पुसमा कोशी प्रदेशमा प्रवाहित कुल औद्योगिक कर्जा ०.५ प्रतिशत वृद्धि भई १ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा १ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ थियो ।
२०८० असार मसान्तको तुलनामा २०८० पुस मसान्तमा खानी सम्बन्धी उत्पादन गर्ने उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २०.७ प्रतिशत वृद्धि हुँदा समग्र औद्योगिक कर्जा बढेको देखिन्छ । निर्माण क्षेत्रमा प्रवाह भएको कर्जा सबैभन्दा बढी २०.५ प्रतिशत घटेको छ ।
एसियन हाइवेको मापदण्डअनुरुप हुने गरी पूर्व–पश्चिम राजमार्गको विस्तारको कामले तीव्रता पाएसंगै कोशी प्रदेशमा रहेका सिमेन्ट, ईंटा, फलामे छड उद्योगहरुको उत्पादन बढ्न सक्ने अनुमान राष्ट्र बैंकले गरेको छ ।