काठमाडौँ । कोपा अमेरिका फुटबलमा आयोजक अमेरिका उरुग्वेसँग १ ० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
उरुग्वे समूह ‘सी’ मा शतप्रतिशत जितसहित क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलबार बिहान भएको निर्णायक खेलमा अमेरिकालाई जित्नु पर्ने दबाब थियो।
समूहमा उरुग्वेले तीन खेलबाट ९ अंक जोड्दै समूह विजेताका रूपमा अघिल्लो चरणमा स्थान बनाउन सफल भएको हो ।
पानामा ६ अंक बनाएर उपविजेता बन्दै क्वाटरफाइनल पुग्न सफल हुँदा तीन अंक बनाएको अमेरिका तेस्रो र खाता खोल्न असफल बोलिभिया चौंथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएका छन्।
आज बिहान भएका दुई खेलको नतिजासँगै क्वाटरफाइनल पुग्ने ७ टोलीको टुंगो लागेको छ।
बुधबार हुने समूह ‘डी’ को खेलबाट अर्को एक टोलीको टुंगो लाग्ने छ। उक्त समूहबाट कोलम्बिया अघिल्लो चरणमा पुग्दा ब्राजिल ४ अंकका साथ दोस्रो स्थानमा छ।
ब्राजिलले कोलम्बियालाई हराए या बराबरी खेलेपनि क्वाटरफाइनल पुग्ने सम्भावना रहँदा पराजित भएमा भने कोस्टारिकाको नतिजा पर्खनु पर्ने छ।