काठमाडौँ । स्पेन र प्रान्स १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ ।
पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्पेन र जर्मनीबीचको खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनका लागि माइकल मेरिनोले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको अन्त्यतिर स्पेनका ड्यानी कार्भाहालले दोहोरो पहेँलो कार्ड पाएर मैदान छाडेका थिए ।
त्यसअघि खेलको ५१ औं मिनेटमा स्पेनका लागि दानी ओल्मोले गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रता स्पेनले जोगाउन सकेन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले खेलको ८९ औं मिनेटमा गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याएका थिए ।
गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो। पोर्चुगललाई ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो।