जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमा सिंहले जनमत र नेकपा एमाले बाहेक सबै दलका मन्त्रीलाई बर्खास्त गरेका छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ६ जना मन्त्रीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका हुन्।
माओवादी केन्द्रबाट मन्त्री बनेका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी की गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा परेका छन् ।
संघीय सरकारमा गठबन्धन फेरिएपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउन उनले ती मन्त्रीहरुलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्तसहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका छन् । मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथावत राखेका छन् ।
२५ जेठमा नेकपा एमालेसहित ६ दलको समर्थनमा जनमतका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले मधेश प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।
आजै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी समेत रहेको छ ।
मुख्यमन्त्री सिंहले राष्ट्रिय समिकरणअनुसार सबै प्रदेशमा परिवर्तन हुने अवस्था रहेको र मधेस प्रदेशमा आजै विश्वासको मत लिने भएकाले नयाँ समीकरणका हिसावले प्रदेश सरकार गठन भएको बताए । उनले प्राविधिक समस्या भएकाले राजीनामा नदिइकन बसेकाले बर्खास्त गर्नुपरेको बताए ।
उनले कुनैपनि मन्त्रीले असहयोग नगरेको पनि बताए । मुख्यमन्त्री सिंहले मन्त्रीहरुकै सहमतिमा बर्खास्ती गरिएको बताए ।