logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेस-एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन : सांसद सापकोटा

    कांग्रेस-एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन : सांसद सापकोटा

    525
    Shares
    कांग्रेस-एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन : सांसद सापकोटा

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता समिकरणको सम्बन्धमा नेपाली कांग्रेस र नेकपा(एमाले)ले गरेको सहमती अपारदर्शी भएको बताएका छन् । आईतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको भनिएको सत्ता समिकरणको सहमती अपारदर्शी भएको बताएका हुन् ।

    उनले दुई दलका बीचमा भएको सहमती आधिकारिक रुपमा बाहिर नआएको भन्दै अपारदर्शी सम्झौता रहेको बताए । उनले संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा रहेपनि सहमतीमा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको भन्दै यसरी स्थिरता दिन नसकिने बताए । उनले नेकपा (एमाले)ले नैतिकता नदेखाएको पनि बताए । उनले दुई दलका बिचमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमती हुनुले सरकार स्थिर हुन नसक्ने बताए ।

    उनले भने– ‘हामीले अभ्यास गरिराखेको संसदको अभ्यासले के भन्छ भने सबभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वेटिङ गर्भमेन्ट अथवा वाचडगका रुपमा प्रमुख प्रतिपक्षमा बसेर भुमिका खेल्ने । तर संसदले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसकारण अहिले उहाँहरुले जे भन्नुभएको छ, यसका पछाडी स्थिरता दिने कुराको कुनैपनि गुञ्जायस देखिँदैन ।

    सबभन्दा पहिले त उहाँहरुले यति अपारदर्शी प्रकारको सहमती गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ । दुईवटा दलका बिचमा के–कस्ता सम्झौताहरु भए त्यो आधिकारिक रुपमा बाहिर आएका छैन । मिडिया ट्रायलका निमित्त उहाँहरुले विभिन्न प्रकारका क्लिपहरु र अरु मेन्सनहरु गर्नुभएको छ, त्यसैलाई मात्र पत्याउनुपर्ने हो भने अलग कुरा हो । नभए उहाँहरुले मध्यरातमा, अमुकमा व्यक्तिको घरमा गर्नुभएको सम्झौताभित्र के छ हामीले हेर्न पाएका छैनौँ । यतिका दिनसम्म त्यसलाई गुपचुप राख्नुपर्ने कुरा उहाँहरुलाई के भयले काम गरिरहेको छ । सबभन्दा पहिला अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ ।

    दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका लागि आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ? यही हो नैतिकता ? आजको दिनसम्म औपचारिक हस्ताक्षर गरेर भएको सम्झौतालाई बाहिर ल्याउनु भएको छैन । त्यहीँ अपारदर्शीता छ । त्यो अनैतिकता हो । ठुलो दललाई त सरकारको नेतृत्व गर्ने सहमती गर्नुभएको छैन, मिडियामा आएका कुराहरुलाई मान्ने हो भने । दोस्रो पार्टीले नै नेतृत्व गर्ने कुरा गर्नुभएको छ ।

    बाँकी रहेको सबै कार्यकाल एउटै पार्टीले नेतृत्व गर्ने पनि भन्नुभएको छैन । त्यसलाई फेरि आधा–आधा गर्ने भन्नुभएको छ । यही हो स्थिरता ? तपाईहरुले गर्नुभएको कुराले स्थिरता देखाउँदैन । सिधा–सिधा लोकलाई ढाट्ने काम गर्नुभएको छ ।’

    सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताए । उनले नेकपा(एमाले)प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिए ।

    उनले भने– ‘प्रधानमन्त्री, गृहमन्त्रीसहित पारदर्शीता कायम गर्नका निमित्त भूटानी शरणार्थीसँग सम्बन्धित रहेको फाइल फेरि खोल्न अगाडी बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरु बिस्तारै सार्वजनिक हुँदै गए । बेचन झाका प्रमाणहरु आएपछि तपाईहरु बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो । डुंगा प्वाल पर्ने बित्तिकै मुसा भाग्छ ।

    बहादुरहरुले त सामना गर्छन् । साहसीहरुले सामना गर्ने हो । तपाईहरु अहिले हामीलाई नैतिकताको पाठ सिकाएर गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनेकाहरुले हामीलाई नैतिकताको पाठ सिकाउने । तपाईहरु पहिले गिरिबन्धु टि स्टेटको कालो धब्बा कसरी पखाल्ने ? बेचन झाबाट बेचैन भएको चैन पहिले फर्काउनुस् न । त्यसपछि हामी कुरा गरौँला ।’

    सांसद सापकोटाले प्रधानन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने बताए । उनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेमा संविधान अनुसार संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री चयनको प्रक्रिया अगाडी बढ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend