logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

    शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

    364
    Shares
    शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् ।

    त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ ।

    राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति गत जेठमा चार दशमलव १७ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ४८ प्रतिशत छ ।

    गत जेठ मसान्तसम्ममा समीक्षा अवधिमा चालु खाता दुई खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ भने पुँजीगत ट्रान्सफर पाँच अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ । यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ ।

    विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको ११ महिना अवधिमा २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

    आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    यो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । चालु आवको जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख २२ हजार नौ सय ३६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ६२ हजार सात सय पाँच रहेको छ । यो अवधिमा आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ ।

    जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव छ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर पाँच दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend