logo

२०८१ असोज १४ सोमबार

logo
  • सोमबार, १४ असोज २०८१
  • भाटभटेनीको अगुवाइमा एक अर्बमा चितवनमा अत्याधुनिक कोल्ड स्टोर निर्माण सुरु, २० अर्बमा देशैभरी खोल्ने

    भाटभटेनीको अगुवाइमा एक अर्बमा चितवनमा अत्याधुनिक कोल्ड स्टोर निर्माण सुरु, २० अर्बमा देशैभरी खोल्ने

    1.7K
    Shares
    भाटभटेनीको अगुवाइमा एक अर्बमा चितवनमा अत्याधुनिक कोल्ड स्टोर निर्माण सुरु, २० अर्बमा देशैभरी खोल्ने

    चितवन । भाटभटेनी समूहको अगुवाइमा चितवनमा अत्याधुनिक कोल्ड स्टोर (चिस्यान केन्द्र) को निर्माण सुरु भएको छ । भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ र लिटिल एन्जल्स समूहका अध्यक्ष उमेश श्रेष्ठको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण सुरु भएको हो ।

    सो चिस्यान केन्द्रको बिहीबार शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको ७ बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण सुरु भएको हो ।

    उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए। कृषि उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले जानकारी दिए। “कृषि उपज एक वर्षसम्म शीतभण्डारमा राख्न सकिनेछ”, उद्यमी श्रेष्ठले भने। यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकतानुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ ।

    उद्यमी श्रेष्ठले भने, “अब मूल्य नपाएर कृषि उपज सस्तोमा बिक्री गर्नु पर्दैन ।” उत्पादन खेर जाने समस्या उनी आफैँले भोगेकाले शीतभण्डारलाई प्राथमिकता दिएको उद्यमी श्रेष्ठ भनाइ छ । किसानलाई प्रेरित गरेर त्यहाँ उत्पादित वस्तु खरिद गरी ग्रेडिङ, लेबलिङ र प्याकिङ गरेर भण्डारण गरी आवश्यकतानुसार बजार पठाउने उनको लक्ष्य छ ।

    अध्यक्ष गुरुङले चितवनसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । उनले २० अर्ब रुपैयाँ लगानीमा देशैभरी कोल्ड स्टोर खोल्ने बताउँदै चितवनमा सुरु भएको प्रोजेक्ट पहिलो भएको बताए ।

    अध्यक्ष गुरुङले किसानले लागतको मूल्य नपाएको बताउँदै किसानले भन्दा बिचौलियाले बढी कमाउने अवस्था आएपछि कोल्डस्टोर खोल्ने निर्णयमा पुगेको बताए ।

    रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले शीतभण्डार निर्माणबाट चितवनको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । शीतभण्डार निर्माणपछि उत्पादन सडेर जाने अवस्था अन्त्य हुने भएको छ।

    एग्रीवस्तु प्रालि’का प्रबन्ध निर्देशक आशिष उपाध्यायले किसानलाई लक्षित गरेर ल्याएको यो परियोजनाले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।कोल्ड स्टोरमा किसानले आफ्ना उत्पादन राख्न पाउँछन् । मूल्य पाउने समयमा निश्चित पैसा तिरेर त्यो कृषिवस्तु बिक्री गर्न पाउने सुविधा पनि दिइनेछ ।

    चितवनको यो परियोजना मंसिरमा सञ्चालनमा आउनेछ । कोल्ड स्टोरमा ग्रेडिङ र प्याकेजिङको पनि सुविधा रहनेछ ।

    गुरुङले मुलुककै ठूलो सुपरमार्केट सञ्चालन गरिरहेका छन् । यस्तै श्रेष्ठको शिक्षाका साथै जलविद्युतमा लगानी रहेको छ । श्रेष्ठ लिटिल एन्जल्स स्कुलका संस्थापक हुन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend