logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अक्सफोर्ड कलेज पहिलो रोजाइको शैक्षिक संस्था बनेको छ : प्राध्यापक हरि भण्डारी

    अक्सफोर्ड कलेज पहिलो रोजाइको शैक्षिक संस्था बनेको छ : प्राध्यापक हरि भण्डारी

    3.9K
    Shares
    अक्सफोर्ड कलेज पहिलो रोजाइको शैक्षिक संस्था बनेको छ : प्राध्यापक हरि भण्डारी

    चितवन । नवलपरासीको गैंडाकोट–२ मा अवस्थित अक्सफोर्ड कलेज मुलुकभरका विभिन्न क्षेत्रका विद्यार्थीको रोजाइको शैक्षिक संस्था बनेको छ । नारायणी नदी झैं निरन्तर अगाडि बढिरहेको कलेजमा कोशी प्रदेशदेखि सूदुपश्चिमसम्म, काठमाडौं र भारतबाट समेत गरी दुई हजार विद्यार्थी अध्ययनरत छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत आफूलाई स्थापित कलेजमा उल्लेख्य रुपमा भारतीय विद्यार्थी समेत अध्ययनरत छन् ।

    सन् २००० मा स्थापना भएको कलेज यस क्षेत्रको पहिलो रोजाइको शैक्षिक संस्था बनेको छ । कक्षा ११ मा भर्ना हुनेको संख्या हेर्दा पुष्टि हुन्छ । ‘काठमाडौँ बाहिर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्छ भन्ने उद्देश्यले २४ वर्षअघि कलेज स्थापना भएको हो । उद्देश्यमा हामी आज पनि प्रतिबद्ध छौं । यस अवधिमा विभिन्न समयमा हामीले आफूलाई प्रमाणित गरेका पनि छौं’, कलेजका प्रिन्सिपल प्राध्यापक ईन्जिनियर हरि भण्डारीले सुनाए ।

    उनका अनुसार कक्षा ११ मा विभिन्न संकायमा गरी औसतमा पाँच सय विद्यार्थी अध्ययनरत छन् । यस वर्ष विद्यार्थीको संख्या बढ्ने देखिएको छ । उनले एसइई परीक्षाको नतिजा प्रकाशित भएको तीन दिनपछिको प्रवेश परीक्षामा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी भइसकेको र मौका परीक्षाबाट आउनेहरुको संख्या जोड्ने हो भने यस शैक्षिक सत्रमा छ सयभन्दा बढी विद्यार्थी पुग्ने अनुमान रहेको बताए ।

    नारायणी नदी किनारमा तीन विघा क्षेत्रफलमा फैलिएको कलेज शैक्षिक पूर्वाधारमा निकै अब्बल छ । ‘पूर्वाधारमा हामी निकै अगाडि छौं, सात कठ्ठामा विद्यालय र कलेजका लागि भवन मात्रै बनेका छन् । २८ हजारभन्दा बढी पुस्तकले भरिएको लाइब्रेरी छ, सात वटा कम्प्युटर ल्याव छन्” उनले सुनौले नेपालसँग भने ।

    उनका अनुसार कलेजको सबैभन्दा राम्रो पक्ष व्यवस्थापन हो । दुई हजारभन्दा बढी विद्यार्थीलाई कक्षा कोठादेखि अतिरिक्त क्रियाकलापसम्म राम्रो व्यवस्थापन गर्न सफल भएकै कारण विद्यार्थीहरुले मुलुकभरमै उत्कृष्ट नतिजा ल्याउन सकेका छन् ।

    सूचना प्रविधिमा अब्बल कलेज काठमाडौँ बाहिरको अन्तर्राष्ट्रिय सम्मेलन गर्न सक्ने एक मात्र अक्सफोर्ड भएको उनको दाबी छ । दश जोड दुईको नतिजा पनि जहिल्यै ९० प्रतिशतभन्दा माथि छ । विसं २०७६ सालमा विज्ञान संकायमा मुलुकभरबाट यहींका विद्यार्थी उत्कृष्ट ठहरिएको उनले सुनाए ।

    कलेज राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित छ । सन् २०१५ मा आइएसओ ९००१ बाट सर्टिफाइड अक्सफोर्ड नेपालको पहिलो कलेज पनि हो । कलेजले जर्मनी, फ्रान्स, इटली, स्वीटजरल्याण्ड, अमेरिका, इंग्ल्याण्ड, जापान, भारत र दुवईलगायतका देशका विभिन्न संस्थाबाट अवार्ड प्राप्त गरिसकेको छ । यसले पनि यहाँको शिक्षाको अन्तर्राष्ट्रिय स्तरको छ भन्न सकिन्छ ।

    कलेजमा कक्षा ११ मा व्यवस्थापन, विज्ञान, मानविकी संकायमा अध्ययापन भइरहेको छ । व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स अध्यापन भइरहेको छ भने विज्ञान संकायतर्फ कम्युटर साइन्स र बायो साइन्स पढाइ हुन्छ । त्यसबाहेक मास कम्युनिकेसन एण्ड जर्नालिजम र ल पढाइरहेको छ ।

    सूचना प्रविधिमा अग्रणी

    अक्सफोर्ड कलेज सूचना प्रविधिमा मुलुककै अग्रणी कलेजमा पर्छ । सुरुआतदेखि नै सूचना प्रविधिको पढाइ, प्रयोग र अभ्यासमा जोड दिएको कलेजले अहिले पनि शिक्षणमा पनि यसको उल्लेख्य प्रयोग गरिरहेको छ । कलेजले प्लसटुदेखि स्नातक र स्नातकोत्तरसम्म सूचना प्रविधिको प्रयोगलाई महत्व दिएको छ । साथै सोही अनुसारका कोर्स पनि अध्यापन गराइरहेको छ ।

    कलेजमा उच्चस्तरीय भूकम्प प्रतिरोधी भवन, ल्याव, एसीसहितको अत्याधुनिक सुविधायुक्त कक्षाकोठा, लिफ्टकोसमेत सुविधा छ । कलेजले पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका आईटी तर्फका ११ वटा स्वर्णपदक (गोल्ड मेडल) मध्ये अक्सफोर्ड कलेजले नै आठ वटा गोल्ड मेडल प्राप्त गरेको छ ।

    कलेजले स्नातक तहमा बिसिए, बिबिए, सिभिल इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनिक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ, ब्याचलर अफ होटल म्यानेजमेन्ट विषय अध्यापन गराइरहेको छ । यस वर्ष जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहमा अक्सफोर्ड कलेजलाई ‘बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड–२०२३’ बाट सम्मान गरिएको थियो ।

    खेलकूदमा पनि अब्बल

    कलेजले विद्यार्थीलाई पाठ्यक्रमभन्दा बाहिर अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकूदमा सक्रिय सहभागिता गराउँदै आएको छ । कलेजमा बास्केट बल कोर्ट, फूटसलको सुविधा छ । यहाँका विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा फूटबल, फूटसल, क्रिकेट र बास्केटबललगायतमा आफूलाई अब्बल सावित गरिसकेका छन् । कलेजमा हरेक वर्ष स्पोर्टस विक मनाउँदै आइएको छ ।

    त्यसबाहेक प्रत्येक महिना दुईदेखि तीन वटासम्म विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएको छ । कलेजका अनुसार सूचना प्रविधि अन्तर्गत रोबटिक्स प्रतिस्पर्धा पनि आयोजना हुने गरेको छ । विद्यार्थीबीच टक शो कार्यक्रम पनि आयोजना भइरहन्छन् । यसप्रकारका कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फूटन गराउन सहयोग पुग्ने कलेजको विश्वास छ ।

    ‘विभिन्न क्रियाकलापअन्तर्गत हालै स्नातक तहमा फ्रेसर पार्टी आयोजना गरिएको थियो । एक हजार बढी विद्यार्थी सहभागी कार्यक्रममा व्यवसाय के हो ? व्यवस्थापन कसरी गर्ने, स्टार्टअप व्यवसाय कसरी सुरु गर्ने ? अर्थतन्त्रको वर्तमान अवस्था कस्तो छ ? इभेन्ट म्यानेजमेन्ट कसरी गर्नेलगायत सांस्कृतिक गतिविधि आयोजना गरिएको थियो, यसबाट विद्यार्थीले धेरै विषयबारे जानकारी लिन पाएँ’, प्रिन्सिपल भण्डारीले भने ।

    छात्रवृत्तिको सुविधा

    प्लसटुमा अध्ययनरत १० प्रतिशतले छात्रवृत्ति पाइरहेका छन् । त्यसबाहेक कलेज आफैले पनि विभिन्न शीर्षकमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थी एसइईमा विद्यालयमा पहिलो, दोस्रो र तेस्रोसम्म हुनेलाई स्वतः छात्रवृत्ति दिने गरेका छौं । त्यसबाहेक खेलकूदमा अब्बल, अपांगता भएका, विकट र पिछडिएका क्षेत्रका, दलित, द्वन्द्वपीडितका सन्तानलगायतलाई छात्रवृत्ति उपलब्ध गराउँदै आइएको जानकारी दिइएको छ । प्रिन्सिपल भण्डारीले चेपाङ समुदायका बालबालिकालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको छ । हाल सो समुदायका एक जना छात्र इन्जिनियरिङ र एक जना छात्राले स्नातक तहमा सूचना प्रविधि विषय अध्ययन गरिरहेका छन् ।

    विषय र कलेज छनोटमा के ध्यान दिने ?

    हालै एसइई परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा विद्यार्थी र उनीहरुका अभिभावकहरु राम्रो कलेज चहार्दै हिँडेको अवस्था छ । कलेज र विषय छनोटमा हतार गर्न नहुने र निकै सोच विचार गरेर मात्रै छनोट गर्नुपर्ने अक्सफोर्ड कलेजका प्रिन्सिपल प्राध्यापक भण्डारीको बुझाइ छ ।

    उनका अनुसार विद्यार्थीले विषय छनोट गर्दा आफ्नो रुचि, उक्त विषयको भविष्य, आफ्नो क्षमता र दक्षता हेर्नुपर्छ । कुनै विषय रुचिले मात्रै पनि पुग्दैन । परिवारको आर्थिक अवस्था पनि हेर्न सक्नुपर्छ । त्यसो त अत्यन्तै राम्रो पढाइले छात्रवृत्तिमा पढ्न सकियो भने निकै राम्रो हो तर त्यो सुविधा सबैका लागि हुँदैन । आफूले कुन क्षेत्रमा करिअर बनाउने हो सोही अनुसार पनि विषय छनोट गर्नुपर्छ ।

    भण्डारीका अनुसार कलेज छनोट गर्दा भने सबैभन्दा पहिलो सो कलेजको व्यवस्थापन हेर्नुपर्छ । व्यवस्थापन गर्ने टीम कस्तो छ भन्ने विषयमा अध्ययन जरुरी हुन्छ । त्यसबाहेक इन्फरमेसन सेन्टर कस्तो छ भन्ने विषयमा पनि उत्तिकै सचेत हुनुपर्छ । सूचना संयन्त्र राम्रो भएन भने शिक्षा प्रभावकारी नहुन सक्छ ।

    कलेजको ल्यावोरेटरीको अवस्था, शिक्षकहरु, शिक्षणमैत्री भौतिक पूर्वाधार, पुरानो र विश्वासिलो संस्था, विगतको नतिजा, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कलेजको ब्राण्ड कस्तो छ वा सर्टिफिकेसनका विषयमा पनि ध्यान दिनुपर्छ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा कलेजले कति लगानी गरेको छ । विद्यार्थीलाई कसरी सहभागी गराउँछ त्यो पनि हेनुपर्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend