काठमाडौं । सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरु अब २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार बसेको थियो ।
बैठकले सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ ।
पहिलो मन्त्रिपरिषद्का निर्णयहरुबारे सञ्चारकर्मीहरुलाई जानकारी दिएका उनले अबका दिनमा भने २४ घण्टापछि मात्र सार्वजनिक गर्ने बताए । कुनै पनि निर्णय परिपक्क हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।
यदि सार्वजनिक महत्वको कुनै निर्णय सार्वजनिक गर्नुपरे मन्त्रिपरिषद् नै निर्णय गरेर बाहिर ल्याउने उनले बताए । यदि अति जरुरी र सार्वजनिक महत्वको विषय भएमा मन्त्रिपरिषदले निर्णय गरेर सार्वजनिक गर्न सक्ने मन्त्री गुरुङले बताए ।