काठमाडौँ । शेयर कारोबार अधिकांशलाई तपाईंको ब्रोकरले कारोबार राफसाफ कति छिटो गर्छ भनेर सोध्नुभयो भने तपाईंले पाउने उत्तर अधिकांशको नकारात्मक नै हुन्छ । अर्थात् ब्रोकरहरुले समयमै कारोबारको रकम खातामा जम्मा नगर्ने र खरिद गरेको शेयर पनि डिम्याटमा समयमै जम्मा नहुने समस्या धेरैले सेवाग्राहीले भोगिरहेका हुन्छन् ।
तर एक महिना अघि मात्रै कारोबार सुरु गरेको ९८ नम्बरको ब्रोकर अर्थात ट्रेडमाओ सेक्युरिटिज प्रालिले भने यी सबै समस्या नआउने गरी सेवाग्राहीलाई सेवा दिने योजनाका साथ कारोबार सुरु गरेको जनाएको छ ।
“हामीले ग्राहकलाई व्यक्तिगत रुपमै व्यवहार गर्छौ, उहाँहरुलाई कुनै पनि समस्या नआउने गरी काम गर्ने योजनाका साथ सक्रिय छौँ”, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शुक्रराज ढंगोलले भने । उनले आफूकहाँ कारोबार गर्ने जोकोहीले पनि समयै रकम र शेयर पाउने बताए ।
घुम्बाराहीमा एक महिनाअघि मात्रै सुरु भएको ब्रोकर कम्पनीले हाल एक सयभन्दा बढी ग्राहक बनाइसकेको छ । कम्पनीले दैनिक एक करोड रुपैयाँभन्दा बढी कारोबार गर्न थालिसकेको छ । “कारोबार सुरु गरेको १३ दिनमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार गरिसकेका थियौँ, यो नयाँ ब्रोकर कम्पनीका लागि निकै राम्रो सुरुआत हो”, उनले भने । उनका अनुसार आज साउन २ गते हालसम्मकै सबैभन्दा बढी एक करोड ६९ करोडको शेयर कारोबार गरिसकेको छ । उनले ब्रोकर कम्पनीमा कान्छो भए पनि कारोबार तथा सेवामार्फत निकट भविष्यमै पुराना र स्थापितले जस्तै कारोबार गर्ने बताए ।
हाल धुम्बाराहीबाट सेवा प्रवाह गरे पनि दसैँ अगाडि कान्तिपथस्थित कार्यालयबाट सेवा सुरु गर्ने उनले बताए । उनले हाल सो स्थानमा कार्यालय व्यवस्थापनको काम भइरहेको र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भइसकेपछि कार्यालय सर्ने जानकारी दिए । कम्पनीले आगामी दिनमा शेयर साक्षरता कार्यक्रमअन्तर्गत विद्यालय र कलेजमा सचेतना कार्यक्रम गर्ने र खाता खोल्ने अभियान अघि बढाउने योजना बनाएको छ ।
कुनै समय ग्लोबल आइएमई क्यापिटलमा मर्चेन्ट हेडका रुपमा काम गरेका सीइओ ढंगोलसँग डेढ दशकभन्दा बढी समयदेखि जलविद्युत् क्षेत्रमा काम गरेको अनुभव छ । उनले विभिन्न जलविद्युत् कम्पनीमा लगानीकर्ताका साथै चिफ फाइनान्स अफिसर र कम्पनी सचिवका रुपमा समेत काम गरिसकेका छन् ।
“शेयर बजारमा लामो समयदेखि सक्रिय छु, साथै पुँजी बजारलाई नजिकबाट नियालेकाले यहाँका समस्या पनि बुझेको छु, सेवाग्राहीमैत्री सेवाप्रवाहलाई ध्यानमा राखेर आगामी दिनमा पनि काम गर्ने गरी योजना बनाएको छु”, उनले भने ।