logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • लगानीकर्तामा उत्साह आउँदा सेयर बजार २८ महिनायताकै उच्च विन्दुमा, मंगलबार ७५.३३ अंकको वृद्धि

    लगानीकर्तामा उत्साह आउँदा सेयर बजार २८ महिनायताकै उच्च विन्दुमा, मंगलबार ७५.३३ अंकको वृद्धि

    504
    Shares
    लगानीकर्तामा उत्साह आउँदा सेयर बजार २८ महिनायताकै उच्च विन्दुमा, मंगलबार ७५.३३ अंकको वृद्धि

    काठमाडौं । सेयर बजार बढ्दै गएपछि लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २५ सय अंकको रेखामाथि पुगेको छ । बजार बढ्दा नेप्से सूचक झनै फराकिलो भएको छ । मंगलबार सेयर बजार ७५.३३ अंक बढेर नेप्से सूचक २५ सय ६३.४३ अंकमा पुगेको छ ।

    मंगलबार नेप्से सूचक २८ महिनायता उच्च विन्दुमा पुगेर बन्द भएको छ । २०७८ चैत १६ गते नेप्से सूचक २५ सय ६८.२५ विन्दुमा बन्द भएको थियो । लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा आक्रामक वृद्धि देखिएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय संसदलाई सम्बोधन गर्दै सेयर बजार बढ्छ भन्ने सकरात्मक सन्देश दिएका थिए । यसको असर पनि बजारमा परेको अनुमान छ ।

    प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रमहरुमा मौद्रिक नीति खुकुलो आउने बताइसकेका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारमैत्री हुने अनुमानसहित लगानीकर्ताको छ ।

    यस्तै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति पनि ल्याउँदै छ । मौद्रिक नीति कस्तो आउला भन्ने कौतुहल सेयर लगानीकर्तामा छ । यसले पनि बजारमा लगानीकर्ताको मनोविज्ञानमा सकरात्मक प्रभाव परेको छ । मौद्रिक नीति बजारमैत्री आएन भने सेयर बजार फेरी ओरालो लाग्ने संभावना उत्तिकै छ ।

    बजार बढेपछि मंगलबार १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् । बिमा समूहहरुमा बढी उत्साह देखिएको छ भने ५ कम्पनी सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक पाँच दशमलव ०६ र जीवन बीमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ ।

    मंगलबार बोटलर्स नेपाल लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल वेयर हाउजिङ कम्पनी  र साहस ऊर्जा लिमिटेडकोको सेयर मूल्यमा सर्किट लागेको छ ।

    मंगलबार लगानीकर्ता शिवम् सिमेन्ट लिमिटेडमा झुम्मिएको छ । शिवम्को सेयर प्रतिकित्ता ५ सय ८८ रुपैयाँमा २४ करोड ६९ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । यस्तै अपि पावर कम्पनी लिमिटेडको पनि प्रतिकित्ता २ सय ३५.८० रुपैयाँमा २४ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

    नेप्सेका अनुसार मंगलबार ३ सय १७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै शेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ । गणपतिको शेयर मूल्य पाँच दशमलव ८३ प्रतिशतले घटेको हो ।

    २ सय २० कम्पनीहरुको सेयर मूल्य बढ्दा १९ वटाको घटेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    बैंकमा लगानीयोग्य पुँजी (तरलता) बढेपछि ब्याजदर घटिरहेको छ । ब्याजदर घटे पनि लगानीकर्ताले बैंकबाट ऋण लिएका छैनन् ।

    यसअघि बजार निरन्तर घट्दा लगानीकर्ताले बजारबाट खर्बौं रुपैयाँ लगानी गुमाएका थिए । जसका कारण सूचिकृत कम्पनीहरुको भाउ निकै तल्लो विन्दुमा पुग्यो । अहिले बजार निरन्तर बढिरहेकाले लगानीकर्ताले फेरी कमाउन थालेका छन् ।

    सूचिकृत कम्पनीहरुको चौथो त्रैमासको वित्तीय रिपोर्ट आउन थालेको छ । कम्पनीहरुको नाफा बढेको रिपोर्ट आयो भने बजार बढ्न सक्नेछ भने यदी घटेमा सेयर बजार पुनः ओरालो लाग्ने संभावना उत्तिकै छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend