logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • डलर महँगिएर फेरी नयाँ रेकर्ड, १ डलर किन्न १३४.२१ रुपैयाँ चाहिने

    डलर महँगिएर फेरी नयाँ रेकर्ड, १ डलर किन्न १३४.२१ रुपैयाँ चाहिने

    588
    Shares
    डलर महँगिएर फेरी नयाँ रेकर्ड, १ डलर किन्न १३४.२१ रुपैयाँ चाहिने

    काठमाडौं । अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार अब १ डलर किन्न १३४.२१ रुपैयाँ खर्चिनुपर्ने भएको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । मंगलबार १ डलरबराबर बिक्री मूल्य १३४.१६ रुपैयाँ थियो । मंगलबारलाई तोड्दै बुधबार नयाँ रेकर्ड कायम राखेको छ । मंगलबारको तुलनामा बुधबार ५ पैसाले डलरसँग नेपाली रुपैयाँ कमजोर हुनपुगेको छ ।

    सामान्य उतारचढाव आए पनि गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलर बराबर १३३.५७ रुपैयाँ कायम भएको थियो ।

    भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो । शुक्रबार १ डलरबराबर ८३.६९ भारु पुगेको छ । डलरसँग भारु कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भइरहेको हो ।

    भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ ।

    पछिल्लो समय अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो । डलर बलियो भएपछि भारु कमजोर हुँदै गएको छ । नेपाल र भारतमा मात्र होइन, विश्व बजारमा डलर बलियो हुँदा अन्य स्थानीय मुद्रा कमजोर बन्दै गएका छन् ।

    विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको तथ्याँक छ । यद्यपि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले डलरको कारोबार घटाउँदै लगेर ४२ प्रतिशतमा झारेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतलगायत अन्य उदीयमान देशबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ । डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन बल पुगेको छ । विश्वबजारमा डलरको ग्राफ उकालो लाग्दै गएको छ ।

    २०८० असारको तुलनामा २०८१ जेठमा एक वर्षको अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.६६ प्रतिशत अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७१ प्रतिशतले अवमूल्यन भएको थियो ।

    उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्व बजारमा डलर महँगो भइरहने छ ।

    अहिले डलरका कारण विश्व बजारमा सुन, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ ।

    डलरसँगै नेपाली बजारमा सुनको भाउ उकालो लागेर तोलाको डेढ लाख रुपैयाँसम्म पुगेको छ । यस्तै कच्चा तेलको भाउ पनि बढेर ब्यारेलको ८१ डलर माथि पुगेको छ । ब्रेन्ट क्रुडमा कच्चा तेल ब्यारेलको ८१.१७ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ । फेडेरल रिजर्भले एक वर्षभन्दा केही बढी समय अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरिसकेको छ ।

    फेडले २०२२ मार्चदेखि आफ्नो महत्वपूर्ण कर्जा दरलाई ५ प्रतिशत बढाइसकेको छ । ब्याजदर ५ देखि ५.२५ प्रतिशत पुगेको छ । डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने छ ।

    गत जेठसम्म विप्रेषण आप्रवाह १९.३ प्रतिशत वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

    विदेशी विनिमय सञ्चिती २७.८ प्रतिशत वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

    डलर अझ महंगो हुने प्रक्षेपण

    आगामी तीन आर्थिक वर्षमा अमेरिकी डलर बलियो भई नेपाली रुपैयाँ झनै कमजोर हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले डलरको मूल्य बढेर नयाँ कीर्तिमान राख्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।

    मध्यकालीन खर्च संरचनाको अन्तिम आर्थिक वर्ष २०८२ ०८३ मा १ डलरबराबर १ सय ३६ रुपैयाँ ९ पैसा पुग्ने अनुमान छ ।

    यस्तै पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउने छन् ।

    डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि हुन्छ ।

    डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढेको छ ।

    यसैगरी विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने छ ।

    यो पनि :

    अमेरिकी डलर महंगिएर नयाँ रेकर्ड, १३६ रुपैयाँको बाटोमा लागेको हो ?

    डलर महँगिएर राख्यो नयाँ रेकर्ड, अझ बढ्ने प्रक्षेपण 

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend