काठमाडौं । इजरायली–नियन्त्रित गोलान हाइट्सस्थित माजदल शाम्सको एक फुटबल पिचमा रकेट आक्रमण हुँदा १२ जना बालबालिकाको मृत्यु भएको छ । तर सो घटनामा लेबनानी शिया लडाकु समूहले संलग्नता अस्वीकार गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले यस आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले हमासले अक्टोबर ७ मा गरेको हमलापछि सर्वसाधारणमाथि भएको सबैभन्दा ठूलो आक्रमण भएको बताए ।
हेजबुल्लाह यस प्रकोपको पछाडि रहेको इजरायलको आरोप छ । इजरायली सेना र सुरक्षा अधिकारीहरूले रक्षामन्त्री योभ गलान्टलाई हिजबुल्लाह विरुद्ध कारबाहीका लागि विभिन्न विकल्पहरू प्रस्तुत गरेका छन् ।
इजरायलका राष्ट्रपति इसाक हर्जोगले रकेट आक्रमणलाई हृदयविदारक बताएका छन् । रकेटले माजदल शाम्सको फुटबल पिचमा प्रहार गरेको थियो । जसमा मृत्यु हुनुका साथै करिव ३० जना घाइते भएका थिए ।
इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।