logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • बंगलादेशमा हिंसा भड्किएपछि राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना भारत पलायन, सेनाको हातमा सत्ता !

    बंगलादेशमा हिंसा भड्किएपछि राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना भारत पलायन, सेनाको हातमा सत्ता !

    1K
    Shares
    बंगलादेशमा हिंसा भड्किएपछि राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना भारत पलायन, सेनाको हातमा सत्ता !

    बीबीसी । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र उनी देश छोडेर विदेश पलायन भएको विवरण आएपछि हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको ढाकास्थित सरकारी निवासमा प्रवेश गरेका छन्। सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो। उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए।

    बीबीसी बंगला र अन्य सञ्चारमाध्यमका अनुसार उनी आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको अगरतलातिर गएकी छन्। समाचार संस्था एफएपीसँग हसिनासँग निकट स्रोतले यसको पुष्टि गरेका छन्।

    ती अधिकारीले एएफपीसँग भने, “उनी र उनकी बहिनीले गणभवन छाडेका छन् र सुरक्षित ठाउँका लागि हिँडेका छन्। जानुअघि उनी आफ्नो वक्तव्य रेकर्ड गराउन चाहन्थिन् तर उनलाई त्यसको अवसर दिइएन।”

    रोयटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ। टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ।

    केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ।

    सेनाको भूमिका कस्तो

    सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो।

    नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन्। आइतवार भएको प्रदर्शनमा कम्तीमा ९० जनाले ज्यान गुमाएको र सयौँ घाइते भएका थिए।

    प्रहरी र सरकारविरोधी दशौँ हजार प्रदर्शनकारीबीच झडप हुँदा उक्त क्षति भएको थियो। ढाकानजिकै जात्राबारी क्षेत्रमा सोमवार पनि हिंसात्मक झडप भएका विवरण आएको छ। ढाका ट्रिब्यूनले छ जना मारिएको जनाएको छ भने प्रोथोम आलोले गोली लागेर तीन जनाको ज्यान गएको उल्लेख गरेको छ। मारिने प्रहरी वा प्रदर्शनकारी को हुन् भन्ने खुलेको छैन।

    “विद्यार्थीदेखि रिक्साचालकहरू यदि सबै सहभागी भइरहे भने जनआन्दोलनको रूप लिन सक्छ,” सोमवारको प्रदर्शनतिर सङ्केत गर्दै राजनीतिक विश्लेषक मुबासर हसनले बीबीसीसँग दिउँसो थिए। “यो आफ्नो कार्यकालमा उनले भोगेको सबैभन्दा कडा चुनौती हो। यो कुनै राजनीतिक दलबाट माग गरिएको हैन। जनसङ्ख्याको ठूलो हिस्साबाट आइरहेको आवाज हो।”

    अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था थियो। नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकालेका थिए। त्यसलाई ढाकासम्मको लामो मार्च भनिएको थियो।

    आइतवार ९० जनाभन्दा बढीको मृत्यु

    बंगलादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ। उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणका आधारित छ।

    एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो। आइतवार सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बंगलादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।

    स्थिति नियन्त्रणमा लिन सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यू घोषणा गरेको थियो। गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ।

    त्यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुन ः कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्।

    प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको थियो। केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन्।

    को हुन् शेख हसिना ?

    विपक्षी दलहरूको बहिष्कारकाबीच गत जनबरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिएका थिए।

    विगत १६ वर्षदेखि बंगलादेशको सत्ता हाँकेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्। शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

    सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो। शेख हसिनाका समर्थकहरू उनले बंगलादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend