logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ‘केही कम्पनीका सेयर मूल्यमा अस्वभाविक वृद्धि’

    ‘केही कम्पनीका सेयर मूल्यमा अस्वभाविक वृद्धि’

    357
    Shares
    ‘केही कम्पनीका सेयर मूल्यमा अस्वभाविक वृद्धि’

    काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले केही कम्पनीका सेयर मूल्य अस्वभाविकरुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको सेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै डा महतले अहिले पुँजीबजारको वृद्धिलाई स्वभाविक रुपमा लिन नसकिने बताएका हुन् ।

    “पछिल्लो समय सेयर बजारमा गति देखिएको छ । तर सेयर बजारमा जसरी ‘बुलिस ट्रेण्ड’ देखिएको छ, त्यसलाई हामीले सहजरुपमा लिनसक्ने अवस्था अवश्य छैन । त्यहाँ केहि चलखेलको सम्भावना प्रशस्त देखिएका छन्”, उनले भने, “कतिपय संस्थाको जसरी सेयर मूल्य बढेको छ, त्यो स्वभाविक देखिँदैन । ती संस्थाको क्षमता कति हो र आर्थिक अवस्था कस्तो छ ? नाफा कति दिनसक्छ ? भन्ने आधार नहेरिकनै मूल्य बढेको छ । यतातर्फ सरकार र नियामकको ध्यान जान जरुरी छ ।”

    पुँजीबजारमा केहि व्यक्तिले ‘इन्साइडर ट्रेडिङ’ गरेको हुनसक्ने पूर्वअर्थमन्त्री महतले आशंका प्रकट गरे । “कुनै कम्पनीको भित्री सूचना प्राप्त गरेर त्यसको दुरुपयोग गर्ने र आम लगानीकर्तालाई फस्ने परिस्थिति निर्माण हुन सक्दछ । केही त्यस्ता संस्थाको सेयर मूल्य बढेकोप्रति गम्भीर रुपमा हेर्न जरुरी छ”, उनले भने ।

    नेपाल राष्ट्र बैंकको कहिले चाहिनेभन्दा लचक र कहिले चाहिनेभन्दा कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्रमा समस्या आएको धारणा महतको छ । यद्यपि पछिल्लो मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याउने उनले बताए । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाए पनि पनि यसले ब्याजदर भने घट्ने नदेखिएको उनको भनाइ छ ।

    सार्वजनिक वित्त व्यवस्थापन र बजेट प्रणालीमा अनुशासन आवश्यक रहेको महतको धारणा थियो । संघ सरकारबाट ३ करोड रुपैयाँभन्दा तलका आयोजनालाई बजेट विनियोजन नगर्ने कार्यविधि बनेकोमा अघिल्लो सरकारले साना आयोजनामा पनि केन्द्र सरकारबाट बजेट विनियोजन गरेर आर्थिक अनुशासन उलंघन गरेको बताए ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको महतले उल्लेख गरे। त्यस्तै, आन्तरिक र बाह्य ऋण परिचालन ठिक ठाउँमा खर्च नभएमा ऋणको भार बढ्दै जाने उनको भनाइ छ । गत आर्थिक वर्षको अन्तिम अर्थात् असार महिनामा रकमान्तर भएको विषय उनले संसदमा उठाएका थिए ।

    स्रोत सुनिश्चितता बिनाका धेरैवटा आयोजना अघि बढाउनु सरकारको कमजोरी रहेको र यसले राम्रो नतिजा नदिने डा महतको भनाइ छ । सरकारले बजेटमार्फत् धेरै नयाँ आयोजना प्रस्ताव गरिएको तर प्राथमिकताका र राम्रो नतिजा दिने आयोजनामा यथेष्ठ बजेट विनियोजन हुन नसकेको उनले बताए। बजेटरी प्रणालीमा समस्या देखिएकाले त्यसमा सुधार आवश्यक रहेको महतले बताए। अगाडि बढाउन नसकिने र स्रोत व्यवस्थापन गर्न नसकिने आयोजना रद्द गरिनुपर्ने उनको भनाई छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend