काठमाडौं । एनआइसी एसिया बैंकले चारवटा कम्पनीको संस्थापक सेयर बेच्न लागेको छ ।
बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गरी ११ लाख ५९ हजार १ सय ५४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
एनआइसी एसियाले निफ्राको ९ लाख ६५ हजार, नागरिक लगानी कोषको ५० हजार, सूर्योदय वोमीको ५१ हजार ८ सय ५ र सूर्यज्योति लाइफको ९२ हजार ३ सय ४९ कित्ता संस्थापक सेयर बिक्री गर्ने जानकारी दिएको छ ।
निफ्राको संस्थापक सेयर मूल्य न्यूनतम् प्रतिकित्ता १ सय १ रुपैयाँ तोकिएको छ । यस्तै नागरिक लगानीको प्रतिकित्ता न्यूनतम ८ सय ३३, सूर्योदय वोमीको ३ सय ९९ र सूर्योज्योति लाइफको १ सय ८५ रुपैयाँ न्यूनतम् मूल्य तोकिएको छ ।
सेयर खरिदको प्रस्तावकले न्यूतम ५ हजारदेखि सबै खरिदका लागि दरखास्त दिन पाउने बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ ।
नागरिक लगानीको सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी बाहेक अन्य व्यक्ति तथा कम्पनीले दरखास्त हाल्न नपाउने भएका छन् । संस्थापक सेयर खरिदकर्ताले साउन २२ गतेदेखि निफ्रा, नागरिक लगानी, सूर्योदय वोमी र सूर्यज्योति लाइफको हकप्रद, बोनस सेयर र नगद लाभांश पाउने भएका छन् ।
यस्तै सूर्योदय वोमीको आर्थिक वर्ष ०७९/०८० को नाफाबाट सेयरधनीलाई वितरणको प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर पाउने बैंकले जनाएको छ । संस्थापक सेयर खरिदका लागि बोलपत्र पेश गर्ने सुरुको मिति मंगलबारदेखि साउन २९ गतेसम्म तोकिएको छ ।
बैंकले यसअघि पनि पटक पटक लिलामीको सूचना प्रकाशित गर्दा पनि सेयर बिक्री भएको छैन् । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुदनाफा गरेको छ ।